बारा, महोत्तरी र रुपन्देहीमा आगलागीबाट ६० लाखको क्षति

समाचार

6/25/2019

रुपन्देही, ९ असार । बारा, महोत्तरी, रुपन्देहीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ५९ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, पचरौता नगरपालिका १ पिपरपाती बस्ने जितेन्द्र महतोको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आइतबार बेलुका आगलागी हुँदा जितेन्द्र महतो समेत ६ जनाको घर पूर्णरुपमा र सोही ठाउँ बस्ने प्रेम महतो नुनियाको घर आंशिकरुपमा जलेर सबै जनाको गरी करिब १० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरी, मनराशिस्वा नगरपालिका ७ झिङ्गा बस्ने कारिक सहनीको घरमा खाना पकाउने क्रममा ग्याँस लिक भई आइतबार बेलुका आगलागी हुँदा घर र नगद ८० हजार रुपैयाँ समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका १३ हाटबजार बस्ने बृजेश कुमार गुप्ताको फर्निचर पसलमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा पसलमा रहेको विभिन्न फर्निचर र काठपात जलेर करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ