रौतहट, २९ मंसिर । जिल्लाका विभिन्न होटलमा बालश्रमका विषयमा हुने कार्यक्रममा चिया लिएर बालकहरु नै पुग्ने गरेका छन् । तर पनि त्यसतर्फ डलर खेती गर्नेको ध्यान जान सकेको छैन ।
बरु ती बालकहरुलाई नै उनीहरुले विभिन्न काममा लगाउने गरेका छन् । विभिन्न दातृ निकायको सहयोगमा केही दिन पहिला चन्द्रपुर नगरपालिकामा भएको बालश्रम सम्बन्धी कार्यक्रममा चिया पु¥याउने काममा १२ वर्ष मुनीका बालबालिकाको उपस्थिति रहेको थियो ।
रौतहटको विभिन्न होटेल तथा निर्माण सेवाको कार्यहरुमा बालबालिकाहरु प्रयोग भइरहेको भएपनि त्यसतर्फ सम्बन्धीत निकायले चासो दिएको पाइदैन ।
यस विषयमा बाल अधिकारकर्मी मौन रहेको जनकारहरुले बताएका छन् । जिल्लामा बालबालिकाहरु होटेलमा श्रम गरिरहेको पाइएका छ्न् ।
जुन होटलमा बाल श्रमका बिषयमा कुरा हुन्छ तेही होटलमा बढी बालश्रम हुने गरेको जानकारहरुको भनाइ रहेको छ ।
होटेलका सञ्चालकहरु गरिव घरपरिवारका ५ वर्षदेखि माथी उमेरका बालबालिकाहरुलाई काममा खटाइरहेका छन् ।
गरिबीको फाइदा उठाउँदै होटेल र निर्माण कम्पनीका सञ्चालकहरु पढने उमेरका बालबालिकालाई काममा लगाइ बालश्रम गराइरहेका पाइन्छ । होटल तथा निर्माण कम्पनि सञ्चालकहरुले श्रमिक वापतको तलव र सेवा सुविधा समेत नदिइ आफ्नो मनोमानी तरिकाले बालबालिकालाई श्रम गराई रहेका उनीहरुको भनाइ रहेको छ ।
यस तर्फ सम्बन्धित निकायले ध्यान नदिएको बुझिएको छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, समनपुर, गौर लगायतका विभिन्न होटेलमा बालबालिकानै श्रमिक रहेका छ्न् । पढ्ने उमेरमा श्रम गरिरहेको कारण उनीहरुको जीवन नर्कमा परिणत भएको जानकारहरुले बताएका छन् ।
श्रम गरिरहेको बालबालिकासंग सोधपुछ गर्दा घरको आर्थिक अवस्थाकमरोर भएकोले श्रम गर्नु परेको बताउने गर्छन् । शिक्षाको हिसाबमा देशमै सबभन्दा पुछारमा रहेको रौतहट जिल्लामा यस्तै बालश्रम बढ्दै गएमा शिक्षामा झन् पछाडी पर्न सकने सरोकारवालाले चिन्ता ब्यक्त गरेको छ ।
यता चन्द्रनिगाहपुरमा बस पार्कमा रहेका होटेल संचालकहरुले बाल श्रम गराउने गरेको पाईन्छ । बाल श्रम गराउनेहरुलाई अहिले सम्म कुनै किसिमको कार्वही हुन सकेको छैनन् ।
तपाईको प्रतिक्रिया