रौतहट, ३० पुस । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले जिल्ला अस्पताल गौरका कर्मचारीहरुको गैरजिम्मेवारीपनाको कारण अस्पतालको दुर्दशा भएको आरोप लगाएका छन् ।
आफ्नो दायित्वप्रति इमान्दारितापूर्वक कार्य नगरेकोले सेवा प्रवाह स्तरीय नभएको उनले दावी गरेका छन् ।
गौर नगरपालिका कार्यालयको आयोजनामा गौरस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा आयोजित खोप सेवाको अवरोध विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा सम्बोधन गर्दै मेयर गुप्ताले बालबालिकाका लागि खोप महत्वपूर्ण भएकोले खोपको जिम्मा लिएका कर्मचारीले यसको विषयमा लापरवाही गर्नु निन्दनीय रहेको टिप्पणी गरे ।
जिल्ला अस्पतालका खोप कर्मचारीले खोप फाँटमा ताल्चा लगाएर फरार भएपछि आफै गएर ताल्चा तोडेर खोप चलाएको स्मरण गर्दै अबदेखि यस्तो नगर्न कर्मचारीहरुलाई सुझाव दिए ।
गौर नगरपालिकालाई पूर्ण खोप नगरपालिका बनाउने उद्देश्यले यूनिसेफको सहकार्यमा कार्यशालाको गोष्ठीको आयोजना गरिएको हो ।
खोप कार्यक्रमलाई प्रभावकारिता बनाउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा मेयर गुप्ताले गौर नगरपालिका शिक्षा र स्वास्थ्यको विकासमा आधी बजेट खर्च गर्ने बताए । उनले भने हामीले कुल बजेटको ५० प्रतिशत रकम शिक्षा स्वास्थ्यमा खर्च गर्छौ ।
बालबालिका लगानी गर्नु खर्च होइन भोलिको आम्दानी रहेको बताए । स्वस्थ र शिक्षित जनता बनाउनु मेरो पहिलो प्राथमिकता रहेको हो भन्दै मेयर गुप्ताले सवै वड़ामा सुविधा संपन्न स्वास्थ्य चौकी स्थापना गर्ने प्रतिवद्धता जनाए । महिला स्वयंसेविकाहरुको कार्यको सराहना गर्दै उनीहरुको मिहनेतलाई उच्च कदर गरिने वाचा समेत गरे ।
जिल्ला अस्पतालबाट गायव भएको उपकरणमा दोषी जिम्मेवार कर्मचारी भएकोले सम्बन्धित निकायले छानविन गरी कार्यवाही गर्न संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरे ।
गौर नगरपालिकाका स्वास्थ्य संयोजक कमलेश्वर वर्माप्रति आक्रोशित हुँदै मेयर गुप्ताले भने करोडौँको कार्य गर्न सकिने नगरपालिकाले खोप राख्नलाई एउटा फ्रिज व्यवस्थापन गर्ने सकिदैन ।
कार्यक्रममा स्वास्थ्य संयोजक वर्माले फ्रिजको आभाव रहेको जानकारी गराएका थिए । मेयर गुप्ताले प्रश्न गर्दै स्वास्थ्य समायोजक वर्मालाई भने मलाइ किन यसको जानकारी दिनु भएन ।
गौर नगरपालिकाको शान्ति सुरक्षाका लागि ३० लाखको लागतमा सीसी कैमरा जडान गराउन सक्छु भने ५० हजारको फ्रिज किन्न सकिदैन भने प्रश्न गरे ।
गौर नगरपालिकामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा कसैले लापरवाही गरे भने वर्दास्त नहुने ठाडो चेतावनी दिँदै मेयर गुप्ताले यस क्षेत्रमा चाहिने स्रोत साधन शीघ्र व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विकासप्रेमी मेयर गुप्ताले नगरपालिकाले भर्ना गरेका स्वास्थ्यकर्मीहरुलाई तालीम दिएर दक्ष बनाई दिन यूनिसेफलाई आग्रह गरे ।
कार्यक्रममा सहभागी भएका वडाअध्यक्षहरु, महिला सदस्यहरु, जनस्वास्थ्यका कर्मचारी, खोप कार्यकर्ता, शिक्षक, महिला स्वयंसेविकाहरुलाई यूनिसेफका डाक्टर सुषमा भुसाल, प्रदीप श्रेष्ठ, दीपक चौधरीले खोप सम्बन्धी प्रशिक्षण दिइरहेको स्वास्थ्य सहसंयोजक दीनबन्धू यादवले जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया