काठमाडौं, ६ फागुन । भारतले ब्रिटेनकी एक महिला सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको हो ।
भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्दै आएकी थिइन् । अब्राहम्स कश्मीरबारे ब्रिटेनको संसदीय समितिको अध्यक्षसमेत हुन् । उनले दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारीसमेत नदिएको बताएकी छन् ।
अब्राहम्स निजी भ्रमणका लागि भारतमा आएकी थिइन् । उनी इमिरेट्स फ्लाइट्सबाट सोमबार दिल्ली विमानस्थलमा ओर्लिएकी थिइन् । लगत्तै अधिकारीहरुले उनको भिसा रद्द गरिएको भन्दै भारत प्रवेशमा रोक लगाएको बीबीसीले जनाएको छ ।
गत वर्ष अगष्ट महिनामा डेबी अब्राहमले तत्कालीन ब्रिटेनकी विदेशमन्त्रीलाई पत्र लेखेर भारतले कश्मीरको विशेष दर्जा खोसेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । पत्रमा ब्रिटेनको संसदीय दल चिन्तित रहेको र भारत सरकारले कश्मीरका जनतासँग विश्वासघात गरेको उल्लेख थियो ।
तपाईको प्रतिक्रिया