कपिलवस्तु, २० भाद्र । जिल्लामा बालविवाहका घटनाहरु नरोकिएपछि सरोकारवालाले भेला नै गरेर बालविवाह रोक्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्लाका स्थानीय तहमा प्रमुख, उप प्रमुख तथा बालअधिकारको क्षेत्रमा सरोकार राख्ने प्रतिनिधिहरुले बालविवाह रोक्न सामूहिक प्रतिबद्धता जनाएका छन् ।
सेभ द चिल्ड्रेन, कालिका, सनसाईन र लिडो नेपालको सहयोग तथा जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा तौहिलवामा सम्पन्न बालविवाह अन्त्यका लागि जिल्लास्तरीय वृहत भेलाका सहभागीले सो प्रतिबद्धता जनाएका छन् ।
दुई दिनसम्म चलेको भेलाले बालअधिकार र बालविवाह रोक्नका लागि घोषणापत्र तयार पारी पारित समेत गरेका छन् ।
घोषणापत्रमा बालबालिका आफैले बालविवाह रोक्ने अभियान लगायत १० वटा प्रतिबद्धता रहेको छन् भने सरोकारवालाले पूरा गर्नु पर्ने १९ बुँदे माग समेत समावेश गरिएको छ ।
बालबालिकाले बालअधिकार प्रबद्र्धन, बालविवाहविरुद्ध शून्य सहनशीलता, आफैबाट बालविवाह अन्त्य, सचेतना र असरबारे जानकारी गराउने, क्रियाकलापको निगरानी, सूचना प्रवाह तथा स्थानीयस्तरमा सहकार्य गर्ने लगायतका प्रतिबद्धता गरेका छन् ।
बालबालिकाहरुले स्थानीय तहसँग गोपनियताको सम्मान, शिक्षाको सुनिश्चितता, बालविवाह प्रभावितलाई तत्कालै कानूनी उपचार र संरक्षणको व्यवस्था, स्थानीय तहमा प्रयाप्त बजेट विनियोजन लगायतका मागहरु राखिएको बाल सञ्जालकी मुना गिरीले बताइन् ।
बालविवाहसँगै दाइजो प्रथाबारे सचेतना प्रवाह गरी कारबाहीमा कडाई गर्न आवश्यक रहेको प्रहरी निरीक्षक बेचन यादवले बताए । सेभका क्षेत्रीय प्रमुख राजेन्द्र ताम्राकारले सिप र ज्ञानका अभावले हुने बालविवाह रोक्न स्थानीय तहमै योजना बन्न आवश्यक रहेको बताए ।
आफ्नो स्थानीय तहलाई बालमैत्री बनाउने गरी योजना अघि बढाइएको मायादेवी गाउँपालिका प्रमुख बजरंगी प्रसाद कुर्मी, बिजयनगर गाँउपालिका प्रमुख गोपाल थापा र बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले प्रतिवद्धता जनाए ।
बुद्धभूमि नगरपालिकाले भने भाद्र १० गते बालविवाहमुक्त नगर घोषणा गरेको र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
जिल्लामा यो अभियानले वलविवाहका समस्या समाधान हुने विश्वास लिएको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनालले बताए ।
तराइको जिल्ला परम्परा र अशिक्षाको कारण बालविवाह हुने गरेकोमा विभिन्न संस्थाहरुको समन्वयमा निरन्तर यस्ता अभियान चलाइएको लिडो नेपालकी कार्यक्रम संयोजक सुनिता बेल्वासेले बताइन् ।
तपाईको प्रतिक्रिया