बालविवाह बिरुद्ध हस्ताक्षर संकलन

समाचार

6/15/2019

रौतहट, ३२ जेठ । “बालबालिकाको इच्छा विवाह होइन शिक्षा हो” भन्ने मूल नाराका साथ रौतहट जिल्लाका किशोरी र महिलाहरुले बाल विवाह रोक्न माग गर्दै लिखित प्रतिबद्धता संकलन अभियान सुरु गरेका छन् ।

विकराल रूप लिँदै गएको सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथाको अन्त तथा बाल विवाहपूर्ण नियन्त्रण गर्ने उद्देश्यले जिल्लाको ईशनाथ नगरपालिका र परोहा नगरपालिकाका किशोरी तथा महिलाहरुले उक्त सामाजिक अभियान सञ्चालन गरेका हुन् ।

सार्वजनिक रुपमा आयोजना हुने सभा, गोष्ठी, अन्तरक्रिया, सेमिनारमा सामाजिक अपराधको रुपमा रहेको बालविवाह गर्नु हुँदैन सबैले भन्ने र बाल विवाहलाई सजिलै स्वीकार गर्ने गरेकोले आफूहरुले बालविवाह विरुद्ध लिखित प्रतिबद्धता लिने गरेको अभियानमा सहभागी एक जना किशोरी अम्बिका गुप्ता बानियाले बताएकी छन् ।

रौतहटमा संचालित बाल विवाह विरुद्धको अभियान कार्यक्रमअन्तर्गत उक्त अभियानको शुभारम्भ गरिएको हो ।

इशनाथ नगरपालिकाको औरिया, मठिया, जटहारा र परोहा नगरपालिकाको रामपुरखाप र नरकटियामा सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा पुरुषहरुको सहभागिता बढ्दै गएको सामाजिक परिचालक संजिदा प्रवीणले बताएका छन् ।

महिला र किशोरीहरुको छलफल केन्द्रका सहभागीहरुले सुरु गरेको अभियानको क्रममा तिन हजार भन्दा धेरै प्रतिबद्धता संकलन गर्ने लक्ष्य राखिएको मितु गुप्ताले जानकारी दिएका छन् ।

अभियानमा अहिलेसम्म ९ सयभन्दा बढी जनाले हस्ताक्षर गरिसकेको र सामाजिक विकृतिको रुपमा रहेको बाल विवाह अन्त्य गर्नलाई सुरू गरिएको अभियान निरन्तर रुपमा संचालनमा रहने आक्सफामको सहकार्यमा संचालित परियोजनाको संयोजक धर्मेन्द्र कुमार साहले बताएका छन् ।

हस्ताक्षर संकलन अभियानमा सहभागी प्रियंका साहले नेपालको कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष भएपनि विभिन्न कारणले सानो उमेरमा बाल विवाह गर्नेको संख्या बढ्दै गएकोले यसलाई रोक्न सामूहिक प्रतिबद्धता र सामूहिक प्रयास आवश्यक रहेको जोड दिँदै शिक्षा पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

हस्ताक्षर संकलन अभियानमा स्थानीय जनप्रतिनिधिसहित प्रहरी, शिक्षक धार्मिक गुरु लगायतकाहरुको सहभागिता देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ