भारतको सहयोगमा भण्डार गृह विस्तार हुने

समाचार

1/30/2020

काठमाडौं, १६ माघ । नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी संयुक्त कार्यदल (सहसचिवस्तरीय संयन्त्र) को बैठकले अमलेखगञ्जको क्षेत्रीय डिपोमा अतिरिक्त ८ हजार दुई सय किलोलिटर पेट्रोल भण्डार गर्ने भण्डारण गृह निर्माण गर्ने विषयमा सहमति जनाएको छ ।

आईओसीको सहकार्यमा उक्त भण्डारण गृह निर्माण गर्ने विषयमा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिब बीएन रेड्डिीले सहमति जनाएका छन् ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट ल्याइएको इन्धन अमलेखगञ्जको डिपोमा भण्डारण हुन्छ । निर्माण हुने भण्डारण क्षमतामध्ये चार हजार एक सय किलोलिटरको निगमले र थप चार हजार एक सय किलोलिटरको आईओसीले भण्डार गृह निर्माण गर्ने तय भएको छ ।

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरी चितवनको लोथरसम्म लान अध्ययन टोली बनाउने विषयमा पनि आधिकारिक रुपमा सहमति भएको छ ।

यसका साथै झापा र धनुषाको महेन्द्रनगरमा निगमले निर्माण गर्ने भनेको ग्यास बोटलिङ प्लान्टका विषयमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने तथा निगमले विस्तृत अवधारणापत्र तयार पारी आईओसीलाई बुझाउने विषयमा सहमति भएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ