भारतका पूर्वसेनापति नेपालमा सम्मानित

समाचार

5/11/2019

काठमाडौं, २७ बैशाख । एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटिज स्टडिज (एपीसीएसएस) ले भारतका पूर्व प्रधान सेनापति महारथी दलवीर सिंह सुहाग र उनकी श्रीमती नमितालाई काठमाडौं ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा स्वागत गरेको छ ।

कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री पनि सहभागी थिए । स्वागत कार्यक्रममा एपीसीएसएसका अन्य २५ सदस्यहरु उपस्थित थिए ।

एपीसीएसएस सदस्य चिरनजंग थापाले भारतीय पूर्वसेनापति सिंहलाई कार्यालयमा स्वागत गर्दै उनको नेपालीप्रतिको अपनत्वबारे संक्षिप्त प्रकाश पारेका थिए ।

थापाले नेपालमा २०७२ वैशाख १२ गते भूकम्प गएका बखत महारथी सिंह विदेश यात्रामा निक्लनै लागेको सन्दर्भ उल्लेख गरे ।

नेपालमा भएको उक्त घटना थाहा पाउने बित्तिकै सिंहले आफ्नो विदेश भ्रमण रद्द गरी भारतीय सेनाले सुरु गरेको उद्धार तथा राहत कार्यमा व्यक्तिगत रुपमा आबद्ध भए ।

सिंहले नेपाली समकक्षीलाई भूकम्प गएको पाँच मिनेटमै फोन गरी नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग भारतीय सेनाले उपलब्ध गराउने आश्वासनसमेत दिएका थिए ।

महारथी सिंहले आफू नेपालमा रहुञ्जेल आफ्नै घरमा रहेको जस्तो अनुभूति हुने गरेको बताए । उनले दुई देशको सैनिक सम्बन्ध नै द्विपक्षीय सम्बन्धको कडी रहेको उल्लेख गरे ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ