काठमाडौं, १८ असार । नेपाल सरकारले भारतका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको नेपाल भ्रमण गराउने तयारी गरेको छ ।
नेपालको औचापरिक भ्रमणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस.जयशंकरलाई सरकारले छुट्टा छुट्टै निमन्त्रणा पठाइसकेको हो ।
भारतीय राष्ट्रपति कोविन्दलाई नेपालको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा समेत गइसकेको छ । सम्भवतः राष्ट्रपति कोविन्दले यही जुलाईमा नेपालको भ्रमण गर्नेछन् ।
यता, प्रधानमन्त्री मोदीले सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्ने बताइएको छ । चुनाव जितेपछि एकपटक पशुपतिको दर्शन गर्ने उनले इच्छा जनाएका छन् ।
पशुपतिको दर्शन गर्नका लािग भएपनि उनी नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी नेपाल भ्रमणमा आउँदा भारतको सहयोगमा तयारी भएको जयनगर–कुर्थासम्मको रेल सेवा र रक्सौलदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको उद्घाटन गर्ने पनि तयारी भइरहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि जयशंकरलाई निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकको मिति तय नभए पनि जुलाईको अन्तिम वा अगस्तको पहिलो हप्तासम्मको बैठक हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भारतबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा नेपालस्थित भारतीय दुतावास र परराष्ट्र मन्त्रालयको बीचमा निरन्तर छलफल चलिरहेको बुझिएको छ ।
तीनैजनाको भ्रमण भए कुन–कुन विषयमा छलफल गर्ने र के–के कुरामा सहमति गर्ने भन्ने विषयमा आन्तरिक रुपमा दुई पक्षबीच छलफल भइरहेको छ ।
तपाईको प्रतिक्रिया