भारतद्वारा कोरोना संक्रमित नेपालीसहित १ सय १९ जनाको उद्धार

समाचार

2/27/2020

काठमाडौं, १५ फागुन । भारत सरकारले जापानको राजधानी टोकियोबाट कोरोना संक्रमित पानी जहाजमा रहेका नेपालीसहित १ सय १९ जनाको उद्धार गरेको छ ।

भारतले कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो ।

उक्त जहाज १२४ जना यात्रु लिएर आज बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा अवतरण भएको छ । उद्धार गरेर दिल्ली ल्याइएका यात्रुहरुमध्ये ११९ जना भारतीय र पाँच जना विदेशी नागरिक छन् ।

उद्धार गरिएका पाँच जनामध्ये दुई जना श्रीलंकाली र नेपाल, दक्षिण अफ्रिका र पेरुका एक–एक जना नागरिक रहेको भारत सरकारले जनाएको छ ।

‘डायमन्ड प्रिन्सेस जहामा रहेका ११९ जना भारतीयका साथै श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका पाँच जना लिएर टोकियोबाट उडेको एअर इन्डियाको विमान दिल्लीमा अवतरण गरेको छ,’ भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।

दिल्ली ल्याइएका भारतीयमध्ये ११३ जना पानीजहाजका चालक दलका सदस्य र ६ जना यात्रु रहेको बताइएको छ । उद्धार गरिएका नेपालीको परिचय भने खुलेको छैन । उद्धार गरिएकालाई दिल्ली छेउको हरियाणाको मानेसरस्थित सैनिक क्याम्पमा १४ दिनको क्वारेन्टाइनमा राखिने छ ।

फेब्रुअरी ४ मा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो । तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७०० जना यात्रुमध्ये ७०० जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । जसमध्ये चार जनाको मृत्यु समेत भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ