काठमाडौं, १० माघ । नेपाल विद्युत् प्रधिकरणले भारतबाट दैनिक करिब पाँच करोड रुपैयाँको बिजुली आयात गरेर मुलुकलाई अन्धकारमुक्त गराएको छ ।
प्रधिकरणले यो हिउँदको पिक आवरमा दैनिक तीन सय ९५ मेगावाट बिजुली आयात गरेर लोड व्यवस्थापन गर्दै आएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले हिउँदे याममा भारतबाट बिजुली आयात गरेर माग पूरा गरेको बताए । भारतको विभिन्न पाँच स्थानबाट सरदर तीन सय ९५ मेगावाट आयात भइरहेको उनले बनाए ।
प्रवक्ता अधिकारीले सरकारले भारतीय कम्पनीबाट प्रतियुनिट सात रुपैयाँ ४५ पैसामा बिजुली किनिरहेको बताए । प्राधिकरणले भारतको पाँचवटा कम्पनीबाट बिजुली आयात गरिरहेको छ ।
प्राधिकरणले एनभिभिएन, पिटिसी, एनबिपिडिसिएल, युपिपिसिएल लगायत पाँचवटा कम्पनीबाट तीन सय ९५ मेगावटदेखि पाँच सय मेगावाटसम्म बिजुली आयात गर्दै आएको छ ।
प्राधिकरणले भारतबाट गत आर्थिक वर्षमा २३ अर्ब तीन करोड रुपैयाँको बिजुली आयात र ३२ करोड रुपैयाँको निर्यात गरेको थियो ।
तपाईको प्रतिक्रिया