भारतीय चालक र प्राविधिकसहित नेपाली रेल चल्ने

समाचार

1/15/2020

काठमाडौं, १ माघ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु हुने भएको छ । रेल विभागका अधिकारीहरूका अनुसार त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको छ ।

रेलचालक, सह चालकदेखि अधिकांश प्राविधिकहरूमा भारतीय कर्मचारी रहने र व्यवस्थापकीय कर्मचारी भने नेपाली नै रहने रेल विभागको भनाइ छ । रेल सञ्चालनमा नेपालको अनुभव कम रहेको र पछिल्ला वर्षहरूमा प्रविधि पनि परिष्कृत भएको हुँदा केही समयका लागि भारतीय प्राविधिक तथा चालक राखिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

करिब ३४ किलोमिटर लामो रेलमार्ग सञ्चालन गर्न नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग दुई वटा रेल खरिद गर्दैछ । झन्डै ८५ करोड रुपैयाँमा ती रेल खरिद गर्न लागिएको हो ।

सम्झौता अनुरूप पहिलो रेल आगामी दुई हप्तामा आउने र त्यसको करिब दुई महिनामा अर्को रेल आउने मिश्रले जानकारी दिए ।

कोनकनले रेल सञ्चालनका लागि करिब १०० जना भारतीय कर्मचारीको आवश्यकता देखाउँदै प्रस्ताव अघि बढाए पनि विभागले भने ३० देखि ३५ जना भारतीय लिने गरी तयारी गरिरहेको बताएको छ ।

उनीहरूले नेपाली कर्मचारीहरूलाई क्रमिक रूपमा काम सिकाउँदै जाने बताइएको छ । त्यसपछि आवश्यकता अनुसार चाहिने कर्मचारी राख्ने र अन्यलाई हटाउने विभागको योजना छ ।

नेपालसँग कोइलाबाट चल्ने ’न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ र अहिले चलाउन लागिएको ’ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव छैन ।

गत डिसेम्बरदेखि नै रेल सञ्चालनमा ल्याउने गरी तयारी गरिए पनि मनसुनका कारण बाढीले झन्डै डेढ सय मिटर लिक बगाएको कारण सञ्चालन मिति धकेलिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ