काठमाडौं, ६ मंसिर । काठमाडौँस्थित भारतीय दूतावासद्वारा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको प्रमूख आतिथ्यमा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य(आइटेक) तथा मौलाना आजाद दिवस होटल हयातमा मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरुलाई भारतका प्रमुख संस्थाहरुमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।
सो समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागहरुका वरिष्ठ सचिवहरु तथा अधिकारीहरुले पनि उक्त समारोहमा सहभागीता जनाएका थिए ।
आइटेक कार्यक्रमअन्र्तगत कम्पुटर, इन्जिनियरिंग, सूचना प्रविधि, पत्रकारिता, बैंकिंग, कानून निर्माण, उर्जा, रिमोट सेन्सिंग, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवर्धन, लेखा तथा वाणिज्यलगायतका विद्याहरुमा प्रशिक्षण दिने गरिन्छ ।
नेपालका दर्जनौ जलस्रोत विज्ञहरु सिंचाई, जल व्यवस्थापन तथा जलस्रोत विकास विषयमा एम टेक तथा पीजी डिप्लोमा तहमा आइआइटी रूर्कीजस्तो प्रतिष्ठित संस्थामा अध्ययन गरिरहेका छन् ।
आइटेक कार्यक्रम अन्तर्गतका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन व्यावसायिक प्रशिक्षण कार्यक्रमहरुमा हाल सम्म १३५३ जना सहभागी भइसकेका छन् ।
आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा इन्डियन इन्स्टिच्युट्स अफ टेक्नोलोजी तथा युनिभर्सिटी ग्रान्ट्स कमिशनको स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुभएका भारत रत्न मौलाना अ्बदुल कलाम आजादको १३० औं जन्म जयन्ती पनि मनाइयो ।
यस अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुती पनि गरे ।
नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग बिकासबारे आफ्ना अनुभवहरु साझा गर्नका लागि भारत सरकारको पुर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएको हो ।
तपाईको प्रतिक्रिया