भारतीय सैनिक छनोटका लागि तयारी

समाचार

10/17/2018

नेपालगञ्ज, ३१ असोज । नेपालगन्जमा विगतझै यसवर्ष पनि भारतीय सैनिक छनोटको तयारी गरिएको छ । आगामी कार्तिक ११ गतेदेखि १० दिनसम्म नेपालगन्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा छनोट कार्य गरिने भएको हो ।

भारतीय सैनिकमा भर्ती हुन साढे १७ वर्ष पूरा गरी २१ वर्ष ननाघेको युवाले आवेदन दिन सक्ने बताइएको छ ।

नेपाल भूतपुर्व सैनिक विकास समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो जानकारी दिइएको हो ।

समितिका अध्यक्ष भिम रानाले भारतीय सैनिकमा भर्ती हुन योग्य नेपाली नागरिकले छनोट कार्य अवधिभित्र सिधैं सम्पर्क राख्न सक्ने बताए ।

आवेदन दर्ता गर्दा एसईई उर्तीण प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा फोटो बुझाउनुपर्ने उनले जानकारी दिए ।

नेपालगन्जका लागि बाँकेसहित यसक्षेत्रका पहाडी जिल्लाबाट समेत युवाहरु आउन सक्ने अध्यक्ष रानाले बताए ।

‘दौड, शारिरीक ब्यायाम तथा लिखित परिक्षा समेत नेपालगन्जमै सम्पन्न हुनेछ,’ उनले भने ‘भारतीय सैनिकमा भर्ना हुन योग्य उम्मेदवारले एक रुपैयाँ पनि शुल्क तिर्नुपर्दैन ।’

नेपालगन्ज, पोखरा लगायत देशका विभिन्न ठाउँबाट भारतीय सैनिकका लागि भर्ना गर्ने गरिएको छ । बार्षिक रुपमा देशभरबाट २ हजार २ सय जना जति नेपाली युवा भारतीय सैनिकमा भर्ना हुने गरेको नेपाल भूतपुर्व सैनिक विकास समितिले जनाएको छ ।

भारतीय सैनिकमा भर्ती हुनका लागि विभिन्न जिल्लाबाट युवाहरु आएर नेपालगन्जमा तालिम समेत लिइरहेका छन् । नेपाल र भारतबीच भएको सुगौली सन्धीयता नेपाली युवालाई भारतले सैनिकमा भर्ती लिन थालेको बताइन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ