भारतले नेपालमा पेट्रोलियम तालिम केन्द्र बनाउने

समाचार

1/20/2020

काठमाडौं, ६ माघ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमका लागि पेट्रोलियम तालिम केन्द्र निर्माण गरिदिने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिदिएको आइओसीले दोस्रो ठूलो परियोजनाअन्तर्गत तालिम केन्द्र बनाइदिने भएको हो ।

पुस अन्तिम साता नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालका तर्फबाट उपस्थित वार्ताटोलीका संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार आयल निगमले तालिम केन्द्र निर्माण गरिदिन प्रस्ताव गरेको थियो । उनका अनुसार निगमको प्रस्तावलाई भारतले सकारात्मक प्रतिक्रिया दिएको र तालिम केन्द्रको सबै खर्च उसैले व्यहोर्नेछ ।

नेपालमा तालिम केन्द्र नहुँदा निगमका कर्मचारी तथा केही व्यवसायीसमेत पेट्रोलियम पदार्थको ढुवानी, लोड–अनलोड, सुरक्षित भण्डारण, डिपो सञ्चालनलगायतका विषयमा तालिम लिन भारतलगायतका देश जानुपरिरहेको छ ।

सहसचिव घिमिरेले तालिम केन्द्र निर्माणपछि आइओसीकै प्राविधिक सहयोग लिएर निगमका कर्मचारीलाई दक्षता प्रदान गरी पेट्रोलियम कारोबारमा सुधार ल्याउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ