काठमाडौं, २१ जेठ । नेपाल–भारतबीचको रेल सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधिमण्डल बुधबार भारत प्रस्थान गर्नेछ ।
सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत जान लागेको हो । यो पटकको वार्तामा जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नेसहित विभिन्न स्थानमा बल्क कार्गो सेवा विस्तार गर्ने बारे पनि छलफल हुनेछ । जनकपुर–जयनगर रुटका लागि भारतसँग रेल किन्ने सम्झौता भइसकेको छ ।
यस्तै वीरगञ्जबाहेकका अन्य प्रमुख नाकाहरुसम्म पनि ‘बल्क कार्गो’ सुविधा प्राप्त गर्ने विषयमा पनि वार्तामा छलफल हुनेछ । यसअघि भारतसँग सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो ।
यो सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगञ्ज नाकासम्म मात्र ल्याउन पाउने व्यवस्था छ । त्यसलाई अन्य प्रमुख नाकाहरुमा पनि विस्तार गर्ने गरी भारतसँग नेपालले पहल गर्दै आएको छ ।
बल्क कार्गोमा मल, चिनी, भटमास, नून, पिना, प्लाष्टिकका दाना, सिमेन्ट, कोइला, क्लिंकर, तरकारी, फलफूल लगायतका वस्तुहरु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया