काठमाडौँ, २१ माघ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ ।
मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि रु ५० करोड विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ ।
विभागकाअनुसार दुई वटा रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि रु एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएकोे छ ।
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारीस्तरबाटै रेलका इञ्जिन खरीद गर्न लागेको हो ।
सरकारीस्तरमा नै दुई वटा रेल खरीद गरिनेछ । त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ । केही प्रस्ताव भने प्राप्त भइसकेकोे छ ।
रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालीम दिन जुन कम्पनीसँग रेल खरीद गरिन्छ त्यसैसँग सम्झौता गर्ने तयारी विभागको छ ।
पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ । पुनः एक पटक नेपाली प्राविधिकसहित भारतीय प्राविधिकले पनि रेलमार्गको अनुगमन गर्ने भएकोे छ ।
निर्माण भएको रेलमार्ग भने केही दिनभित्रै भारतीय पक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराएको छ । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।
यस्तै विभागले अगाडि बढाएको केरुङ–काठमाडौँ, रक्सौल काठमाडौँ रेलमार्ग पनि अध्ययनको क्रममा छ । काठमाडौँ उपत्यकामा नै थानकोट– धुलिखेल मेट्रो रेल र सातदोबाटो– बूढानीलकण्ठ मेट्रो रेल निर्माणका लागि अध्ययन भइरहेको छ ।
तपाईको प्रतिक्रिया