काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले चौंथो निर्वाचन दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ । यही फागुन ६ र ७ गते विभिन्न कार्यक्रमहरू गरी निर्वाचन दिवस मनाउन लागिएको प्रेस विज्ञप्ति जारी गरी निर्वाचन आयोगले जनाएको छ । “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन” भन्ने नारा रहेको छ ।
फागुन ७ गते दिनको २ः०० बजे निर्वाचन आयोग परिसरमा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा मूल समारोहको कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, (२०७६\०७७ – २०८०\०८१), निर्वाचन स्मारिका, २०७६ र निर्वाचन न्याय, स्रोत पुस्तिका, २०७६ को लोकार्पण, आयोग र अन्तरगत कार्यालयमा कार्यरत उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।
फागुन ७ गते बिहान “स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचन” विषयक रेडियो नेपाल र नेपाल टेलिभिजनबाट परिसंवाद प्रसारण गरिने छ भने फागुन ६ गते बिहान ६ः३० बजे रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम प्रसारण गरिने छ प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मंगलबार आयोग परिसरमा वृक्षरोपण तथा सरसफाई, खेलकुद कार्यक्रम र नेपाल रेडक्रस सोसाइटीको समन्वय र सहयोगमा रक्तदान कार्यक्रम गरिनेछ ।
त्यसैगरी सोही दिन निर्वाचन आयोगको मिडिया सेन्टरमा प्रमुख निर्वाचन आयुक्तज्यूबाट निर्वाचन तथा मतदाता शिक्षा हाते पुस्तिका लोकार्पणका साथै उपनिर्वाचन, २०७६ को संक्षिप्त भिडियो प्रदर्शन र निर्वाचनको आवश्यकता तथा महत्वको विषय सन्दर्भको “एक भोट नामक” फिल्म प्रदर्शन गर्ने तथा आयोग वा अन्तर्गत २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई पुरस्कृत गर्ने लगायतका कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया