जनकपुरधाम, ३ माघ । प्रदेश २ मा उपभोक्ता समितिहरुको भुक्तानी नदिएको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुको पोष्टर बनाइ जुत्ता हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता समितिहरुको भुक्तानी प्रदेश सरकारले अहिलेसम्म दिन सकेको छैन । त्यसकै विरोधमा प्रदेशकै प्रदेशसभा सदस्यहरुले प्रदेशसभा अनिश्चितकालका लागि अवरोध गरेका छन् ।
पीडित उपभोक्ता समितिका सदस्यहरुले बारम्बार ताकेता गर्दा पनि प्रदेश सरकार भुक्तानी दिन कुनै पहल नगरेकोले बाध्य भएर विरोधमा उत्रिएको उनीहरु बताउँछन् ।
शुक्रबार जिरोमाइलमा काम गरेको पैसा भुक्तानी गर्न भन्दै उपभोक्ता समितिका सदस्यहरुले विरोधस्वरुप मुख्यमन्त्रीसहित पाँच जना मन्त्रीहरुको पोष्टर बनाइ त्यसमा असक्षम सरकार, निकम्मा सरकार, भुक्तानी कहिले भनेर विरोध प्रदर्शन गर्दै थिए ।
पीडित उपभोक्ता समितिका सदस्यहरुले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहको तस्वीर अंकित पोष्टर राखेर विरोध गर्दै जुत्ता हानेका थिए ।
प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ ।
तपाईको प्रतिक्रिया