मुख्यमन्त्री राउत भन्छन्, ‘हल्लाको पछाडी नलाग्नुस्, यो सरकार पाँच वर्षसम्म चल्छ’

समाचार

1/27/2020

जनकपुरधाम, १३ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने, ‘हल्लाको पछाडी नलाग्नुस्, यो सरकार मधेशी जनताको म्यान्डेटले बनेको हो, पाँच वर्षसम्म चल्छ, न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै सखाप पार्ने षड्यन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पारे ।

यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारीतन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्दै उनले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथि नै रहेकाले आफूहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पारे ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून समस्याहरु आएकोले ढिलो हुन गए पनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तयारी शुरु भैसकेको स्पष्ट पारे ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियरहरुको सेवा सुविधाका लागि प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ