काठमाडौं, १८ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
आठ घण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखि अमेरिकाको शिकागोमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।
श्रम कुनै बस्तु वा बिक्रि वितरणको साधन होइन भन्ने मुल मान्यताका साथ अघि बढेको मजदुरहरुको आन्दोलनले विभिन्न आरोह अबरोह पार गर्दै कामको छनौट गर्ने अधिकार, उत्पादनमुलक रोजगारीको अवसर, बिना भेदभाव समान कामका लागि समान पारिश्रमिकको अधिकार, सुरक्षित र स्वस्थ कामका अवस्थाहरु, विश्राम तथा कार्यघण्टाको उचित सीमा एवं तलबी बिदाको अधिकार, ट्रेड युनियन खोल्ने र सम्मिलित हुन पाउने अधिकार, सामुहिक सौदावाजी तथा सामाजिक बिमा र सामाजिक सुरक्षा जस्ता अधिकारहरु स्थापित भएका छन् ।
तपाईको प्रतिक्रिया