मेडिकल कलेज स्थापना हुने भएपछि बर्दिवासमा उत्साह

समाचार

3/29/2019

बर्दिवास, महोत्तरी, १५ चैत । महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ ।

बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको हो ।
“बर्दिवासमा मेडिकल कलेजको काम अघि बढेछ, यसअघि बर्दिवास–६ मा कृषि सङ्कायको स्नातकतहसम्म अध्ययन/अध्यापन हुने प्राकृतिक स्रोत व्यवस्थापन कलेजको पठनपाठन शुरु भइसकेको छ”, महोत्तरी–१ ‘क’ बाट निर्वा्चित प्रदेशसभा सदस्य शारदा थापाले भने, “अब बर्दिवास मुलुककै शैक्षिक गन्तव्य बन्ने आश जाग्यो ।” बर्दिवास–३ मा पशुविज्ञान विषयको डिप्लोमा कलेज, बर्दिवास–११ मा डिप्लोमा इञ्जिनीयरिङ र बर्दिवास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसमा भर्खरै स्नातकोत्तर तहको पठनपाठन शुरु भइसकेको थापाले बताए ।


पछिल्लोपटक सरकारले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरेर काम अघि बढाएपछि नगरका आम बासिन्दा उत्साहित भएका छन् । सरकारले आर्थिक वर्ष २०७३÷७४ मा प्रदेशमा एउटा मेडिकल कलेज स्थापना गर्ने नीति बनाएअनुसार गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले कलेज स्थापनाका लागि कार्यालय खोल्ने सहमति दिएपछि अहिले काम अघि बढेको हो ।

सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा कलेज पूर्वाधार विकासका लागि रु ८७ लाख छुट्याइएको उपसचिव सुवेदीले बताए । यसबाहेक विश्वविद्यालय अनुदान कोषबाट बर्दिवास, सुर्खेत र बुटवलका लागि मेडिकल कलेजमा १०÷१० करोड रकम विनियोजन भएको सुवेदीले जानकारी दिए । सबै विधाको अध्ययन/अध्यापन हुने बर्दिवास मेडिकल कलेजका लागि ३०० श्ययाको अस्पताल पनि निर्माण गरिने सुवेदीको भनाइ छ ।

कलेज स्थापनाका लागि बर्दिवास–४ मा भब्सी र अटाबे पुलबीच पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि ७५ रोपनी जग्गाको सिफारिश भएको छ । सिफारिश जग्गा वनक्षेत्र परेकाले अहिले यसबारे अन्तिम निर्णय हुने प्रक्रियामा रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ