चितवन, २२ जेठ । रक्तसञ्चार केन्द्र भरतपुरमा रगतको अभाव देखिएको सन्दर्भमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बघौंडा, स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र बसन्तपुर युनाइटेड क्लबको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।
रक्तदान कार्यक्रममा २०१ जना रक्तदाताहरुको सहभागिता रहेको थियो । १७२ जना पुरुष र २९ जना महिला रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
यो संख्या माडी उपत्यकामा सम्पन्न रक्तदान कार्यक्रमहरुमध्ये हालसम्मकै सर्बाधिक रक्तदान रहेको रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।
कार्यक्रमको पहिलो रक्तदाता रहनुभएका नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उप–सभापति बिदुर के.सी. थिए । रक्तदान कार्यक्रमको सुरुवातमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले माडीमै ब्लड प्वाइन्ट स्थापनाका लागि पहल जारी रहेको जनाए ।
त्यसैगरी माडी नगरपालिकाले रकम भुक्तान गर्नेगरी माडीका बिरामीहरुलाई आवश्यक पर्ने रगतको सहज एवं निःशुल्क व्यवस्थापन गर्न भरतपुरस्थित ब्लड बैंकसँग सम्झौताको तयारी गरिएको पनि उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया