काठमाडौं, २९ बैशाख । भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको छ । दिल्लीसहित सात राज्यका ५९ लोकसभा सिटमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका सबै १०, बिहारका ८, पश्चिम बंगालका ८, मध्य प्रदेशका ८, दिल्लीका सबै सात र झारखण्डका चार सिटमा मतदान भइरहेको हो ।
यसपटक चुनावमा शीला दीक्षित, विजेन्दर सिंह, गौतम गम्भीर, आतिशी मार्लेना, अजय माकन जस्ता नेता चुनावी मैदानमा रहनु भएको छ ।
उत्तर प्रदेशको आजमगढ सिटमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र भाजपाका दिनेश यादवबिच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । यस्तै केन्द्रीय मन्त्री मेनका गान्धी सुल्तानपुर सिटबाट चुनावी मैदानमा रहनु भएको छ ।
छैटौँ चरणको चुनाव सकिएपछि ४८४ सिटमा मतदान सम्पन्न हुनेछ ।
भारतमा यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दैछन् ।
तपाईको प्रतिक्रिया