धनुषा, १३ माघ । मृत्युलाई जितेर स्वदेश फर्केका उमेश यादव आफ्नो गृहनगर फर्किँको क्षण हेर्दा जो कोही पनि भावुक देखिए ।
झण्डै मृत्युको मुखमा पुगिसकेका थिए उमेश । उनलाई साउदीमा मृत्युदण्डको सजाय सुनाइसकेको थियो । वैदेशिक रोजगारका लागि साउदी पुगेका उमेशको हातबाट सहकर्मी पाकिस्तानी नागरिकको ज्यान गएको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।
साउदीको कानूनले उनको मृत्युदण्ड सुनाउँदा उनी आफै र परिवारजनले पनि बाँच्ने आशा मारिसकेका थिए । तर भनिन्छ, ‘जाको राखे साइयाँ मार सके न कोई’ । यो कुरा प्रमाणित भयो ।
सामाजिक अभियन्ता सरोज रायको सराहनीय कार्य
उनको बचाउका लागि सामाजिक अभियन्ता सरोज रायले अभियान नै चलाए र सो अभियानलाई देश विदेशमा रहेका नेपालीहरुले भरपूर साथ दिएका थिए ।
उनलाई बचाउनका लागि साउदी कानूनले मृतक परिवारबाट माफीनामा र ब्लडमनी माग गरेको थियो । यो कुरा थाहा पाउना साथ सामाजिक अभियन्ताले दिनरात एक गरेर यसमा जुटे, यहाँसम्म कि उनी पाकिस्तान पनि पुगे र अन्त्यमा सफलता हासिल गरे ।
१४ वर्षपछि घर फर्किएका उमेशलाई स्वागत गर्न गाउँलेहरु पनि जम्मा भएका थिए । उनीहरुले बाजागाजासहित स्वागत गरे । माया मारिसकेको छोरा घर फर्किँदाको उनका आमाको खुसीको अनुहारले सबै दुःख बिर्साइदिए ।
तपाईको प्रतिक्रिया