रौतहट, २५ चैत । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रौतहटको आयोजनामा मत्स्य क्षेत्रको विकासका लागि सरोकारवालाहरुसँग एकदिने अन्तरक्रिया गोष्ठी कार्यक्रम आइतबार गौरमा सम्पन्न भएको छ ।
मत्स्य व्यवसायीहरुलाई आधुनिक तरीकाबाट माछा पालन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला माछा पालन व्यवसायीहरु सहभागी भएका गोष्ठी कार्यक्रममा जिल्ला कृषि विकास ज्ञान केन्द्रका प्रमुख रविन्द्र श्रीवास्तव, भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख राम प्रकाश प्रधान, मत्स्य विकास अधिकृत सरोज यादवले माछा पालन गर्ने किसान व्यवसायीहरुलाई पोखरीमा पानीको मात्रा आँकलन गरी आवश्यकताअनुसार खान दिएमा माछाको उत्पादकत्व बढने बताएका थिए ।
सहभागी भएका माछा, मासु व्यवसायीहरुलाई कसरी उत्पादकत्व बढाउने भनी विषयमा विस्तृत रुपमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी भएका व्यवसायी सुरेश यादवले अनुभवी प्राविधिकको सल्लाह सुझाव अनुसार माछा पालन गर्दा उत्पादनमा बृद्धि हुने गरेको प्रतिक्रिया दिएका छन् ।
अर्का सहभागी राम नरेश यादवले ज्ञानको आभावको कारण माछा व्यवसायीहरु घटामा पर्ने गरेको बताएका छन् । उनले पैलेट दानाको उत्पादन गर्ने फैक्ट्रीको स्थापना हुनु पर्ने माग गरेका छन् ।
कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख प्रधानले माछा पालनका लागि प्रदेश नम्बर २ मा पर्याप्त सम्भावना रहेको बताएका छन् । पानीको अनुपात, तापक्रम, खानामा व्यवसायीहरुले ध्यान दिएमा आम्दानी हुने उनको तर्क रहेको छ ।
माछा पालन गर्दा पानीको अवस्था, माटोको अवस्था, खाद्यको मात्रा, माछाको बृद्धि दर तथा औषधि उपचारमा ध्यान दिनु पर्ने सुझाव दिए ।
कार्यक्रममा कुखुरा पालन, माछा पालन, भैंसी पालन, बाख्रा पालन, बंगुर पालन, हाँस पालन, गाई पालनको विषयमा व्यवसायीहरुलाई सुरक्षा सम्बन्धी प्राविधिक जानकारी गराइएको थियो ।
गोष्ठी कार्यक्रममा माछा, मासु, दूध उत्पादक व्यवसायी, किसान, संचारकर्मी राकेश यादव, जीतेन्द्र कुमार दास, महिला पत्रकार अम्बिका यादव लगायतका सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया