विराटनगर, ७ पुस । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आइतबारदेखि सुरु भएको छ ।
मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनरमा १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भइरहेको छ ।
मैथिली युवा पुस्ताहरुलाई प्राचीन मैथिली, कला तथा संस्कृतिप्रति अभिरुची बढाउनुको साथै भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन उद्देश्यका आयोजना भएको सो सम्मेलनमा मैथिली भाषा, संस्कृति, रहनसहन, पहिरन लगायतका विषयहरुमा व्यापक विमर्श जारी छ ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिलीलाई कामकाजीको भाषा बनाउनुपर्ने बताएका छन् ।
उनले मैथिली भाषाका आदिकवि विद्यापतिको योगदानलाई राज्यले कदर गर्नुपर्ने, नेपाल र भारतको मिथिला क्षेत्रमा यो भाषालाई कामकाजी भाषा बनाउनुपर्ने धारणा राखेका छन् ।
उपप्रम यादवले नेपाल र भारतका मिथिला संस्कृति विश्वकै उदाहरणीय रहेको दाबी गरेका छन् । मिथिला संस्कृतिप्रति राज्य अनुदार हुँदा यसको विकासमा बाधा पुगेको गुनासो गरे ।
नेपाल र भारतका मैथिली भाषाका अगुवाहरुले संस्कृति तथा भाषाको उत्थानको लागी मैथिल विद्वान तथा कवि, कलाकारसँग छुट्टाछुट्टै विचार विमर्श भइरहेको मैथिली एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले बताए ।
सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले गरेका छन् ।
सम्मेलनमा सम्बोधन गर्दै प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।
उनले नेपालमा दोश्रो सबैभन्दा बढी बोलिने मैथिली भाषालाई राज्यले मुल्यांकन गर्नुपर्ने उनले बताए । मैथिली भाषालाई सरकारी कामकाजी भाषा बनाइए र सत्ताको पावरसँग जोडिए थप समृद्ध हुने राज्यमन्त्री मण्डलले धारणा राखे ।
यसैगरी, नेपाल र भारतका मिथिला भाषी विहार राज्यका पूर्वमन्त्री रामलखन रामरमनले समेत सम्बोधन गरेका छन् । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आज सम्पन्न हुनेछ
तपाईको प्रतिक्रिया