मधेशी दलबीच एकताको चर्चा

‘संकट आउँदा एकीकरणको कार्ड खेल्नु नयाँ होइन’

समाचार

12/14/2018

काठमाडौं । संविधान संशोधनको मुद्दा भजाएर केपी ओली नेतृत्वको सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपालले मधेशी दलसँग एकताका लागि प्रयास थालेको छ ।

पार्टीको हालै काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले राजपा नेपालसहित मधेशमा रहेका अन्य दलहरूसँग एकताका लागि वार्ता समिति बनाएको छ ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा बनेको वार्ता समितिको सदस्यमा उपाध्यक्ष तथा राजनीतिक समितिका सदस्य रकम चेम्जोङ, महासचिव रामसहाय यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव मोहम्मद इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापामगर छन् ।
पार्टी एकीकरणका लागि वार्ता टोली गठन गर्ने भनी राजनीतिक समितिबाट केन्द्रीय समितिमा प्रस्ताव आएको हो । यद्यपी राजपा नेपालसँग मात्र नभई मुद्दा र विचार मिल्ने अन्य दलहरूसँग एकीकरण गर्नका लागि वार्ता समिति गठन गरिएको फोरमले स्पष्ट पारेको छ । फोरमले मुद्दा र विचार मिल्ने जो कोहीसँग एकीकरण हुने बताएको छ ।

राजपा नेपाल र फोरम नेपालबीच एकीकरणका लागि पहिलादेखि नै छलफल हुँदै आएको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसअघि पनि एकीकरणका लागि छलफल भएको हो । दुई दलबीच एकीकरणका लागि दोस्रो तहका नेताहरूबीच पनि पटक–पटक छलफल भइसकेको छ । तर, राजपा नेपालभित्र आन्तरिक विवाद शुरू भएपछि वार्ता र छलफल हाललाई स्थगित रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आपसी तालमेलका आधारमा चुनावमा भिडेका राजपा र फोरमबीच एकीकरणको प्रयासलाई अर्थपूर्ण मानिएको छ । यसअघि राजपा राजनीतिक दल नभई केही मठाधीशहरूको झुण्डमात्र रहेको बताउँदै आएका फोरम अध्यक्ष उपेन्द्र यादवले राजपासँग वार्ता आह्वान गर्दै वार्ता समितिसमेत बनाउनु उनको राजनीतिक चातुर्यता रहेको विश्लेषण गरिएको छ ।

फोरमले वार्ता कमिटी अहिले बनाए पनि दुई दलबीच एकीकरणका लागि विगत ६ महिनादेखि प्रयास भइरहेको राजपाका एक नेताले खुलासा गरे । पार्टी एकीकरण गर्न दुई दलबीच पटक÷पटक छलफलसमेत भएको उनको भनाइ छ । दुई दलबीचको एकीकरणका सम्बन्धमा राजपाका तत्कालीन संयोजक ठाकुर पनि सकारात्मक छन् । तर फोरम अध्यक्ष यादव भने ठाकुरको नेतृत्वमा बस्न रूचाएका छैनन् ।
यद्यपी मधेशी दलहरूबीच एकताको प्रयास हुनु राम्रो कुरा हो । यसअघि पनि मधेशका ६ वटा दलहरू एकीकृत भएर राजपा बनेको दृष्टान्त रहेको छ । तर एकता केका लागि, किन र कसरी गर्ने भन्ने विषयमा प्रस्टता हुन जरूरी छ । पार्टीमा फुटेर र सरकारमा जुटेर बस्ने चरित्रका कारण मधेशको राजनीति हास्यका विषय भएको छ । आफ्नै पार्टी फोड्ने र सरकार भित्र छिर्ने सिद्धान्तविहीन नेताहरूको कार्यशैलीका कारण आज सिंगो मधेश बदनाम छ ।

सत्ताका लागि मात्र एकीकरण गर्ने हो भने यस्तो एकीकरणको कुनै अर्थ र भविष्य रहँदैन ।
मधेशी जनताले मधेशी नेतृत्वको कमजोरी र कार्यशैलीबारे राम्ररी बुझेका छन् । जब जब नेतृत्व कमजोर हुन्छ तब तब उनीहरू एकताको कार्ड फाल्ने गर्छन् । त्यसैले हास्यास्पद, नाटक मञ्चन गरेर मधेशलाई बदनाम गराउने र मधेशी शक्तिहरूको रगतको अपमान गर्ने कार्य कम्तीमा एकताको नाममा गरिनु हुन्न ।
सरकारमा सामेल भएयता फोरम अध्यक्ष यादवको लोकप्रियता खस्कदै गएको छ । संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाई सरकारमा सहभागी भएको फोरम अध्यक्ष यादवले हालसम्म त्यो मुद्दा अगाडि बढाउन सफल हुन सकेका छैनन् । मधेशका जनताबीच खस्कदै गएको साख जोगाउन उनले एकीकरणको ‘स्टन्ट’ गरेको बुझ्न गाह्रो छैन ।

पार्टी भित्र आलोचित भएपछि यादवले एकताको नाममा मुद्दालाई अन्यत्र मोड्न राणनीति अपनाएका छन् । यदि मधेशी दलबीच एकता हुने चाहना नै उनको छ भने किन यसको प्रयास निर्वाचन अघि गरिएन, अहिले आएर एकताका लागि हातेमालो गर्नुको के अर्थ जस्ता अनेकौं प्रश्नहरू उब्जिएको छ ।

यता, राजपा पनि आन्तरिक कलहले थिचिएको छ । नेतृत्व परिवर्तन भएसँग पार्टी दुई गुटमा स्पष्ट विभाजित भएको छ । पार्टी भित्रको आन्तरिक कलहले गर्दा कार्यकर्ता निराश छन् । पार्टीको नयाँ नेतृत्वलाई आगामी बैशाखमा पहिलो महाधिवेशन गर्ने दायित्व छ तर उसलाई थुप्रै चुनौतीहरूको पनि सामना गर्नु परेको छ । त्यसैले राजपाको नयाँ नेतृत्वले पनि एकताको कार्ड खेलेर आफ्नो कमजोरी ढाकछोप नगर्ला भन्न सकिन्न ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ