जनकपुरधाम, १९ चैत । भीषण आँधी तथा असीना वर्षाबाट बारा, पर्सा र रौतहटका पीडितहरुको सहयागका लागि प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र राज्यमन्त्री सुरेश मण्डलले एक महिनाको तलब दिने निर्णय गरेका छन् ।
मंगलबार मन्त्री रायको अध्यक्षतामा वन मन्त्रालयको बसेको बैठकले मन्त्री र राज्यमन्त्रीसहित मन्त्रालयअन्तर्गत कार्यरत् कर्मचारीहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
वन मन्त्रालय मातहतका कर्मचारीहरुले तीन दिनको तलब मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
यसैगरी, सो बैठकबाट प्रभावित स्थानको लागत बमोजिम नियमानुसार घर निर्माण कार्यका लागि काठ उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
सो बैठकले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तो दुःखद घडीमा सम्पूर्ण सहयोगी हातहरुलाई आआफ्नो स्थानबाट सकेसम्म सहयोग गर्न अपीलसमेत गरिएको छ ।
तपाईको प्रतिक्रिया