रुपेन्द्र पटेल, रौतहट, २९ माघ । रौतहट जिल्लाको मौलपुर नगरपालिका वडा नम्बर ५ पतौरामा भेटिएको पुरातात्विक महादेव मन्दिरको श्रृंगारिने कार्य तीव्र रुपमा अगाडी बढाइएको छ । फाल्गुन ५ र ६ गते हुने मधानी महोत्सवको लागि मन्दिर आकर्षक रुपमा सजाउने कार्य तीव्र गतिमा भइरहेको हो ।
बेलायतबाट आएका पुरातात्विक विज्ञहरुले गरेको सर्वे अनुसार नयाँ मन्दिरको संरचना फेला परेकोले त्यसको उत्खनन गर्ने कार्य पनि जारी रहेको छ । हजारौ हजार वर्ष पुराना मन्दिरको अवशेष फेला परे पछि उत्खननको कार्य शुरू गरिएको छ ।
मौलापुर नगरपालिका आयोजक रहेको उक्त मधानी महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसार तीव्र बनाइएकोले लाखांैलाख आम नागरिक अवलोकन गर्न आउने अनुमान आयोजकले गरेका छन् ।
महोत्सवलाइ लिएर बाटो घाटोको सरसफाई, विद्युत्को व्यवस्थापन, संचारको व्यवस्था, मधानी हेर्न आउने श्रदालुहरुको बस्ने खाने व्यवस्थाको तयारी भई रहेको मौलापुर नगरपालिकाका प्रसाशकीय अधिकृत सिकिन्दर प्रसाद साहले बताएका छन् ।
मधानी महोत्सवमा नेपाली चलचित्रका नायक नायिका, गायक, भोजपुरी सिनेमाका सुपर स्टार दिनेश लाल निरहुवा, अभिनेत्री आम्रपाली दुवे लगायत भारतका गायक गायिका कला प्रदर्शन गर्नको निमित आउने आयोजकले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को आगमनको अवसर पारेर आयोजना गरिएको मधानी महोत्सवले पतौरालाइ पर्यटकीय क्षेत्रको रुपमा परिचित गर्ने विश्वास लिइएको छ ।
रौतहटमा पर्यटकीय स्थल अरु भएपनि पतौराको छुट्टै पहिचान स्थापना हुने विश्वास गरिएको छ । महोत्सवको लागि नगरपालिकाले करीव २ करोड रकम छुट्याएको बुझिएको छ ।
तपाईको प्रतिक्रिया