वीरगन्ज, १६ माघ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पर्सामा शहीद दिवसको कार्यक्रम आयोजना गरेको छ । वीरगंजको नारायणी अस्पतालमा रहेको थ्रीबम मल्लको शालिक र गण्डक स्थित शहिद तेज बहादुर आमात्य शालिकमा फुलमाला अर्पण गरी शहीद दिवस मनाइएको छ ।
फाउण्डेशनका अध्यक्ष महम्मद शहाबुदिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शहीद पुत्र पुर्व सांसद राजेन्द्र बहादुर आमात्यले शहीद दिवस नेपाली कांग्रेसले मनाउनु पर्नेमा फाउण्डेशनले मनाउनु परेको दुखेशो पोख्दै पर्सा कांग्रेसले सहिदलाई बिसिएको बताए ।
उनले नेपाली कांग्रेसको नेतृत्व भएको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहीदहरुलाई अरुले बिर्सेपनि नेपाली कांग्रेसले बिर्सन हुँदैनथ्यो भन्ने धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष महम्मद शहाबुदिनले पार्टीको जिल्ला, क्षेत्र तथा नगरकार्य समितिले सहिद दिवस मनाउँला भनि प्रतिक्षा गर्दा कही कतैबाट जानकारी नआएपछि हतारमा निर्णय गरी फाउण्डेशनले सहिद दिवस मनाउने निर्णय गरेको बताए ।
कार्यक्रममा फाउण्डेशनको पदाधिकारीका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया