‘मन बचन कर्मले आत्माको साक्षी राखी मानव सेवा गरौं’

समाचार

2/2/2019

रौतहट, १९ माघ । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाको ३२औं वार्षिक साधारण सभा राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा शनिबार सम्पन्न भएको छ ।

नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा भएको वार्षिक साधारण सभामा वक्ताहरुले निःस्वार्थ भावले मन बचन कर्मले आत्मालाई साक्षी मानेर मानव सेवा गर्नुपर्ने जोड दिएका छन् । मानवीय सेवाभन्दा अरु कुनै धर्म ठूलो नभएको उनीहरुको निष्कर्ष थियो ।

जिल्ला सभापति संजीव कुमार मल्लिकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम एकवाल राय यादवले नेपाल रेडक्रस संस्था सेवामूलक तथा विकासमूलक संस्था भएको बताएका छन् ।

उनले विपद दुःखमा परेका व्यक्तिको उद्धार स्थापना गर्ने प्रमुख दायित्व रेडक्रसले निर्वाह गर्दै आएको विश्लेषण गरे ।

अरु संघसंस्थाभन्दा फरक काम कर्तव्य नेपाल रेडक्रस सोसाइटीको रहेकोले यस संस्थालाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

सभापति यादवले रगत संचार भवनको स्थापना गर्ने अवधारणा सराहनीय भएको बताए । कार्यक्रममा पूर्व सभासद रम्भा देवीले महिला तथा बालबालिका माथि भैरहेको हिंसा न्यूनीकरणमा सबैले लाग्नुपर्ने जोड दिए ।

गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले नेपाल रेडक्रसको कार्य सामाजिक विकासको क्षेत्रमा अहम् रहेको बताए । रौतहटमा ब्लड बैंक स्थापना हुनु पर्ने भन्दै यसका लागि रौतहटका अन्य स्थानीय तहले दिने सहयोगको दोब्बर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मेयर गुप्ताले विपद व्यवस्थापनको क्षेत्रमा रेडक्रसले राम्रो भूमिका निर्वाह गरेको समेत उल्लेख गरे । मानव सेवाको आधार मानेर स्थापना गर्ने डाक्टर जा‘न हेनरी ड्यूना महान व्यक्ति भएको जिकिर गरे ।

संस्थापकको सिद्धान्तअनुसार सबैले अघि बढ्नुपर्ने मेयर गुप्ताको भनाइ रहेको थियो ।

रगतको आभावमा कतिपय व्यक्तिले ज्यान गुमाउनु परिरहेकोले जिल्लामा व्लड बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अघि बढेकोले यो पुण्य अभियानमा सबैले सक्दो सहयोग गर्नुपर्ने पूर्व सभापति डाक्टर नन्दकिशोर झाले बताए ।

केन्द्रीय सदस्य सपूत बहादुर कार्कीले देशभरिमा १० लाखको संख्यामा रेडक्रसकर्मी कार्य गरिरहेको जानकारी गराए ।

९ लाख जूनियर युवा रहेको समेत बताउँदै कार्कीले मानव सेवा गर्नु उत्तम धर्म रहेको प्रस्ट परे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद साहले रेडक्रसको कार्य उल्लेखनीय रहेको बताए ।

यूएन हैबिटाटका रौतहट प्रतिनिधि दीपेन्द्र ठाकुरले लैंगिक हिंसा, सरसफाई, विपदमा परेकाहरुको उद्धार गर्ने जस्ता कार्यहरु नेपाल रेडक्रसले समेत गर्दै आएको भन्दै प्रशंसा गरे ।

जिल्ला उपसभापति राजकिशोर प्रसाद यादवले सञ्चालन गरेको कार्यक्रममा जिल्ला शाखाका मन्त्री रामविनोद कुमार गिरीले आगामी आर्थिक वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विजय किशोर झाले २०७४ चैत्रदेखि २०७५ पौषसम्मको २३ लाख ५५ हजार २१४ रुपैयाँ आम्दानी तथा ११ लाख १५ हजार ४३२ रुपैयाँ खर्चको विवरण प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष झाले २०७५ माघदेखि २०७६ आषाढसम्मको ६५ लाख ८३ हजार ६८१ रुपैयाँ आय तथा ६१ लाख ७६ हजार ४४० खर्च र ४ लाख ७ हजार २४१ बचत हुने अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

सहभागी सभासदहरुले प्रस्तुत बजेट, खर्च विवरण बहुमतले पारित समेत गरेको छ । कार्यक्रममा नियमित रक्तदान गर्ने, आजीवन सदस्यहरुलाई प्रशंसा पत्र तथा १२ उपशाखालाई मायाको चिनो प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ