रौतहट, ४ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाभित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । विगत केही दिनदेखि एक्कासी रुपमा बढेको अत्याधिक गर्मीको कारण जनजीवन कस्टकर भएको बेला स्थानीय स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ ।
प्रचण्ड गर्मी र तातो घामको कारण विभिन्न किसिमको रोगका संक्रमण बढ्ने खतरा रहेको अवस्थामा स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी व्यवस्थापन गर्नुको साटो नगर प्रमुख, उपप्रमुखको विवादले औषधिको कृत्रिम अभाव सिर्जना गरिएको हो ।
टेण्डर प्रक्रियाबाट औषधी खरीद भई नगरपालिकामा दाखिला भएपनि स्वास्थ्य संस्थाहरुमा भने आपूर्ति हुन सकेको छैन । ज्वरो, झाडापखाला, लू, जुकाम लागेमा नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन जाँदा औषधी पाइने अवस्था समेत रहेको छैन ।
नगरपालिकाभित्र रहेको स्वास्थ्य संस्थामा जुकाको औषधि, परिवार नियोजनका साधन, महिलाहरुले खाने चक्कीको समेत आभाव रहेको देखिएको छ ।
निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने खेलमा आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारको उल्लंघन समेत गरिरहेको छ । नगर उपप्रमुख अंशु सिंहले औषधी खरीदमा अनियमिता भएको भन्दै औषधी भण्डारण गरिएको कोठामा ताल्चा लगाई छानविन हुनु पर्ने मांग अघि सारेकी छन ।
उपप्रमुख सिंहले टेण्डर भएको अनुसार औषधी नभएको दावी गरेकी छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेयले औषधी खरीदमा कुनै किसिमको अनियमितता भएको छैन भनी ठोकूवा गरेका छन् ।
दुई जना जनताका प्रतिनिधिबीच आपसी विवादले जनता स्वास्थ्य समस्यामा परेका छन् । गर्मी चरम सीमामा रहेकोले स्वास्थ्य संस्थामा औषधी पर्याप्त हुनु पर्ने बेला भण्डारण गरेर राखिएको छ ।
औषधिको आभावमा कुनै मानवीय क्षति भएमा यसको जिम्मेवारी नगरपालिकाका जिम्मेवार व्यक्तिले लिनु पर्ने हुन्छ । शंकास्पद भएको औषधी बाहेकका औषधी चाँडो स्वास्थ्य केन्द्रहरुमा पठाउनु पर्ने आवश्यक रहेको छ ।
बढेको गर्मीको कारण विद्यालयहरु धमाधम बन्द भइरहेको छ । जनताले सहज रुपमा प्राप्त गर्ने स्वास्थ्य सेवा अवरुद्ध गर्नु आम नागरिकको स्वास्थ्यसँगको खेलवाड़ भैरहेको स्थानीयहरुले बताएका छन् ।
आपसी विबाद छोडेर औषधिको पूर्ति गर्नु पर्ने सर्वसाधारणको माग रहेको छ । बढेको गर्मीले छालामा हुने रोगको चाप बढेको छ । शरीरभरि रातो रातो फुस्रो आउनुको साथै चिलाउने समस्या देखिएको छ । पानी जति खाए पनि शरीरमा पानीको मात्रा कमी रहेको अनुभव भैरहेको छ ।
तपाईको प्रतिक्रिया