मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

समाचार

2/3/2020

मोरङ, २० माघ । मोरङमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुन्दर हरैंचा नगरपालिका–१० जरुवास्थित सडकमा सोमबार बिहान प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिपरको ठक्करबाट साइकल यात्री सोही स्थान बस्ने ४७ वर्षीय बाबुराम कार्कीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा को.१ ख ७५५६ नम्बरको बसले को.१७ प ७९४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका–६ बस्ने २६ वर्षीय डेकेस बिकको ३ वर्षीया छोरी प्रतिक बिकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी प्रतिकको बिराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक डेकेस, उनकी श्रीमती २० वर्षीया सिर्जना बिक र सासुआमा ४३ वर्षीय कल्पना ठंटालको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ