मुकेश कुमार यादव, सिरहा, २६ माघ । “प्रथम मिर्चैया महोत्सव–२०७५” को पुर्वसन्ध्यामा बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उद्देश्यले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
“समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नारा सहित आयोजना भईरहेको महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने लक्ष्य रहेको छ ।
महोत्सवको काम अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका उपाध्यक्ष अरुण सिंहले बताए । उनले भने “स्टल निर्माणको काम सम्पन्न भएको छ, स्टल बुकिङ्ग पनि ८० प्रतिशत भईसकेको छ, समुद्घाटको अवसरमा स्थानीय कला, संस्कृति, झाँकी प्रर्दशन गर्ने कार्यक्रम रहेकाले सोही अनुसार तयारी भईरहेको छ ।” कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुको साथै नगर सफा सुग्धर राख्ने उदेश्यले बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौडेलले बताए ।
मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गर्ने तय भएको छ । करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा एक सय ३१ वटा स्थलको व्यवस्था गरिएको छ भने ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ ।
नगरपालिकाको आयोजनामा भएको सरसफाईमा सहभागीहरुले नगरको बिभिन्न भागको सरसफाई गर्दै महोत्सव स्थलमा पुगेर समापन गरेका थिए । सरसफाई कार्यक्रमको समापनमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव र महोत्सव समितिका प्रचारप्रसार संयोजक अशोक कुमार साहले सम्बोधन गरेका थिए ।
सरसफाईमा महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साह, सचिव भरत महासेठ, सरसफाई अभियन्ता धिरेन्द्र कुमार साह, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी जवान, सिरहा सेवा समाजका साथै मोहन माबि, बाजु माबि, स्वस्तिक पाठशाला, सगरमाथा मावि, टाईम्स स्कुल, रामजानकी बिद्यामन्दिर, अरुणोदय स्कुल, ह्वाईट हाउस, पोलर स्टारका बिद्यार्थी, शिक्षकको साथै नगरबासी, व्यापारी, बुद्धिजिवी लगायतका सहभागिता रहेका थिए ।
तपाईको प्रतिक्रिया