धनगढी, १ फागुन । आफूहरुले दिएको अल्टिमेटमलाई सरकारले सुनुवाइ नगरेको भन्दै थरुहट–थारुवान मोर्चा आन्दोलनमा उत्रिएको छ ।
मोर्चाले धनगढीमा पत्रकार सम्मेलन गरी आमरण अनसनसहितको आन्दोलनको कार्यक्रममा उत्रिन लागेको हो । मोर्चाले कैलालीको धनगढीस्थित गुरही चोक (क्याम्पस चौक)मा आमरण अनसन बस्ने जनाएको छ ।
मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले आफूहरुले सांसद रेशम चौधरीलगायतलाई जेलबन्दीको रिहाई, टीकापुर घटनावारे सत्यतथ्य छानविन गर्न पूर्व न्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायत माग गरेको बताए ।
तर सरकारले २० दिनसम्म कुनै सुनुवाई नगरेपछि आमरण अनसनसहितको आन्दोलनमा उत्रिएको संयोजक थारुको भनाइ छ ।
उनले आफ्नै नेतृत्वमा आमरण अनसन बस्ने जनाउँदै फागुन २ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गरिने र त्यतिले नभए फागुन ५ गतेदेखि ३ दिन आमहड्तालको घोषणा गर्ने चेतावनी दिए ।
मोर्चाले १४ बुुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
थरुहट आन्दोलनको क्रममा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा एक नाबालकसहति आठ प्रहरीको ज्यान गएको थियो भने ८० भन्दा बढी थारु समुदायको घर, पसल, एफएममा आगजनि गरिएको थियो ।
सो घटना घटनाको अभियोगमा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित २७ जना विरुद्ध विभिन्न मुद्दा चलायो तर मोर्चाले राजनीतिक आन्दोलनको क्रममा घटना भएको जनाउँदै राजनीतिक ढंगले नै समाधान खोजिनु पर्ने माग राख्दै आएको छ ।
तपाईको प्रतिक्रिया