वीरगंज , ३ फागुन । वीरगंजको घण्टाघर नजिकै जारी जुत्ता चप्पल व्यापार मेलाको समय अवधी २ दिन थप गरिएको आयोजकले जनाएको छ ।
गत माघ ६ गतेदेखी जारी मेला फागुन ८ सम्म मात्रै चल्ने भनिएपनि हाल मेला लोकप्रिय बन्दै गएको तथा ग्राहकहरु पनि उत्साहपुर्ण रुपमा अवलोकन गर्न आईरहेका कारण मेलाको अवधी २ दिन थप गरी फागुन ११ गतेसम्म चल्ने आयोजक नेपाली जुत्ताघर प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।
करीब २ लाख ग्राहक तथा उपभोक्ताहरूलाई मेला अवलोकन गराउने लक्ष्य लिइएकोे मेलामा नेपालीसँगै खासगरी भारतीय ग्राहकको आकर्षण बढी देखिएको तथा दिनभरी जसो सिमावर्ती भारतका विभिन्न शहरबाट ग्राहकहरु मेलामा अवलोकन गर्न आउने गरेको अध्यक्ष उपाध्यायले बताए ।
मेलामा प्रतिदिन ५ लाख भन्दा बढीको कारोबार हुने गरेको तथा हालसम्म ८० हजार भन्दा बढी नेपाली तथा भारतीयले भ्रमण अवलोकन गरिसकेको मेला आयोजकका अध्यक्ष होमनाथ उपाध्यायले बताए । मेलामा पुरुषभन्दा महिला उपभोक्ता अवलोकन गर्न तथा जुत्ता चप्पल खरीदका लागि आउने गरेको विक्रेताहरूले बताएका छन् ।
स्वदेशी ब्रान्डका जुत्ता चप्पल सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्यले मेलामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उपभोक्ताहरुलाई सस्तो मुल्यमा जुत्ता चप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्ने उदेश्यले संचालन गरिएको मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्रीमा राखिएको छ ।
तपाईको प्रतिक्रिया