काठमाडौँ, १६ पुस । भारतको काशी हिन्दू विश्वविद्यालयका संस्थापक पण्डित मदन मोहन मालवीयको १५७औँ जन्मजयन्तीका सन्दर्भमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, त्रिविका पूर्वउपकुलपति महेशकुमार उपाध्याय र पूर्वरथी नारायणचन्द्र मल्ललाई सम्मान गरिएको छ ।
सोही विश्वविद्यालयमा शिक्षा लिएर उनीहरुले मुलुकको विकासमा योगदान गरेबापत सम्मान गरिएको छ । महामाना मालवीया मिसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँहरुलाई सम्मान गर्दै मालवीयले भारतीय संस्कृतिका मर्मज्ञ तथा पूर्वीय दर्शनका ज्ञाता भएको र भारतको स्वतन्त्रता आन्दोलनलाई निष्कर्षमा पु¥याउन योगदान गरेको विचार व्यक्त गरे ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष जीएन सरस्वती, नेपाल–भारत पुस्तकालयका प्रमुख डा महेशचन्द्र शर्मा, साहित्यकार जीवनचन्द्र कोइरालालगायतले मालवीयको सरलपन, सादा जीवन तथा उच्च विचारको नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिँदै पाँचखालमा नयाँ काशी विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ संस्था अगाडि बढेको जानकारी दिए । विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको उक्त कार्यक्रममा मालवीय सन्देश वार्षिक मुखपत्र विमोचन गरिएको थियो ।
तपाईको प्रतिक्रिया