काठमाडौं, ११ फागुन । विभिन्न घोटालाका मूल दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरुमा निहित स्वतन्त्रता विरोधि प्रावधान हटाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले माइतिघरमा प्रदर्शन गरेको छ ।
वाईडबडी÷न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति बिरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो ।
यसैगरी पछिल्लो संस्करणमा तत्कालिन मन्त्री एवं मन्त्रिपरिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायत माथि गहिराईमा छानवीन गरि कारवाही प्रकृया अघि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
यसैगरी संसदमा प्रस्तुत सूचना प्रबिधि लगायत संचारक्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शन मार्फत पुनः ध्यानाकर्षण गराएको छ ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रिय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया