जनकपुरधाम, ५ पुस । सरकारले लागू गरेको राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा प्रदेश २ को दुई जिल्लामा वितरण हुने भएको छ ।
गृह मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेश २ का महोत्तरी र सप्तरी जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।
‘चालु आर्थिक वर्षमा सातै प्रदेश गरी १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरिने गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।
जनकपुरमा आयोजना भएको कार्यशालामा बोल्दै उनले १५ जिल्ला मध्येय प्रदेश २ को महोत्तरी र सप्तरीमा परिचयपत्र बाँड्ने कार्यक्रम तय भएको जानकारी दिए ।
महानिर्देशक काफ्लेका अनुसार महोत्तरीस्थित १५ स्थानीय तहका १६ वर्ष उमेर पुगी नागरिकता लिइसकेका ३ लाख ७७ हजार ७ सय ४० र सप्तरीस्थित १८ स्थानीय तहका ३ लाख ८४ हजार ७ सय ८५ नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने छ ।
चालु आर्थिक वर्षमा १५ जिल्लाका ३५ लाख २३ हजार ६९८ नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्य विभागले लिएको छ।
राष्ट्रिय परिचयपत्रमा नागरिकका जैविक तथा व्यैक्तिक विवरण र विद्युतीय चिप जडीत हुनेछ ।
नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गर्ने उद्देश्यका साथ सरकारले यो परिचयपत्र दिन लागेको हो ।
सरकारले पहिलो चरणका लागि पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसकेको छ ।
कार्यशाला गोष्ठीमा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले कतिपय नेपाली नागरिक नागरिकता पाउन नसकेको अवस्थामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रक्रियामाथि प्रश्न गरेका थिए ।
तपाईको प्रतिक्रिया