जनकपुरधाम, १६ माघ । प्रदेश २ सरकार र डिफिडको सहयोगमा सञ्चालित सीप परियोजनाबीच अगामी ३ वर्ष भित्र ४५ हजार युवालाई रोजगार दिने भएको सम्झौता अनुरुप पुर्वाधार निर्माणको क्रम शुरु भएको छ ।
गत साउन महिनामा भएको सम्झौता अनुरुप विभिन्न सेवा प्रदायक संस्थाले प्रतिवद्धता अनुरुपको रोजगार सृजना गर्ने कार्य थालनी गरेको हो ।
यसै क्रममा मोरंग अटो वक्र्सले जनकपुरमा जेसिबी तालिम सेन्टरको शुभारम्भ गरेको छ भने रोजगारी पसलले यस अघि नै प्रदेश २ को विभिन्न स्थानमा घुम्ती रोजगारी पसल संचालन गर्दै वेरोजगार युवाहरुको लगत संकलन गरि रोजगार उपलब्ध गराउने काम सुरु गरि सकेको छ ।
मोरंग अटो वक्र्सको तालिम केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री लालबाबु राउतले आजको प्राविधिक युगमा सीप बिना रोजगारी खोज्नु रेगिस्तानमा पानी खोज्नु सरह हुने भएकोले प्रदेश सरकार युवाहरुलाई प्रविधिमा पहुँच बनाउन यस्ता कार्यक्रमहरुको थालनी गरेको उल्लेख गरे ।
सीप परियोजनाका साझेदार संस्था लेवल स्टेपले पनि सर्लाहीको हरिवनमा गलैचा बनाउने तालिमको शुरुवात गरि सकेको छ भने एसबिआई बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुका लागि सहुलियत ऋण उपलब्ध गराउने कार्यको शुभारम्भ गरेको छ ।
युवा युवतीहरुलाई प्रविधिमा पहुँच बनाउदै रोजगार बनाउने योजना अनुरुप युके एडकै सहयोगमा प्रविधिमा महिला भन्ने कार्यक्रमको समेत जनकपुरमा शुभारम्भ भएको छ । सो कार्यक्रमको समेत मुख्यमन्त्री लालबाबु राउतले शुभारम्भ गरेका छन् ।
तपाईको प्रतिक्रिया