रातारात सटर निर्माणपछि विवाद, उपमहानगरपालिका मौन

समाचार

11/1/2018

चन्द्रकान्त खनाल, रुपन्देही, १५ कार्तिक । नयाँ बसपार्कमा रहेको बुटवल उपमहानरपालिकाको व्यवसायिक भवनमा विवाद उत्पन्न भएको छ । महानरगरको स्वामित्वमा रहेको १७ सटर (कोठा) रहेको उक्त भवनमा रातारात अर्को सटर थपेपछि अहिले विवादमा परेको छ । दक्षिण मोहडा भएको सटर नं.१७ को पश्चिममा पनि भित्ता फोडेर सटर राखेपछि सटर नं.१५ लगाएतले आपत्ति जनाएका छन् भने यस घटनाप्रति महानरगले कुनै चासो देखाएको छैन ।

सटर नं.१७ का पसले दिपक वर्णवालले दक्षिण मोहडा भएको सटर कोठा भाडामा लिई व्यापार गर्दै आएका थिए । उनले सम्झौता अनुसार करिब ४० हजार भाडा तिर्दै आएका छन् भने उता दोहोरो मोहडा (उत्तर र पश्चिम) भएको सटर नं.१५ का पसले राजेश सुनारले करिब ५० हजार मासिक भाडा तिर्दै आएका छन् । सटर नं.१७ का वर्णवालले भित्ता फोडेर पश्चिमतर्फ सटर राख्ने प्रक्रिया गरेपछि सटर नं.१५ लगाएतले उपमहानरमा जानकारी दिँदै उजुरी गरेका थिए ।

उजुरी पश्चात बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले कर्मचारीलाई बुझ्न पठाएको बताए । उनले भने –‘यस सम्बन्धी मलाई कुनै जानकारी छैन । म बुझेर समस्या समाधान गर्दछु । तर, उपमहानगरलाई जानकारी गराउँदा गराउँदै पनि सटर राख्ने प्रक्रिया नरोकिएपछि अन्य व्यवसायीले महानगरप्रति दुःख व्यक्त गरेका छन् । उजुरी पश्चात् महानगरको निर्देशनमा प्रक्रिया रोकिएको थियो । महानगरले प्रक्रिया रोक्दापनि सोमाबार रातीको समयमा सटर नं.१७ का दिपक वर्णवालले पश्चिमको भित्तामा सटर लगाएका छन् ।

उनले सटर लगाएको जानकारी प्राप्त भएपछि पनि महानगरले हेर्नु सिवाय कुनै कारवाही अघि बढाएको छैन । सटर समझौता अनुसार सटरवालाले विना अनुमती तथा महानगरको निर्णय बिना तोडफोड तथा मर्मत गर्न मिल्दैन । तर, आफ्नो व्यवसायिक लाभको लागि सम्झौता र नियम विपरित उपमहानरपालिकाको सम्पत्ति तोडाफोड गरेर रातारात सटर राख्दा पनि महानगर मौन छ । महानगरको मौनताले केही कर्मचारीको मिलेमतो रहेको अन्य व्यवसायीको शंका छ । महानगरले समस्याप्रति गम्भिर भएर शिघ्र समाधानतर्फ नलागेपछि उक्त घटना लगाएतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय,बुटवलमा उजुरी परेको छ ।

महानरगको उक्त भवनमा वि.सं.२०७४ सालमा टेण्डर आह्वान गरि विभिन्न सर्तअनुसार व्यवसायिक प्रयोजनको लागि भाडामा दिइएको हो । व्यवसायीका अनुसार बसपार्क भित्र तथा फुटपाथमा अन्य व्यवसायी राख्न नमिल्ने , हाल सामाजिक विकास मनत्रालय रहेको भवनमा काउन्टर रहने लगाएतका सम्झौता अनुसार सटरहरुको भाडा महङ्गो बोलकबोल गरिएको थियो । तर,पछि महानरगले ३० भन्दा बढी फुटपाथ व्यापारीहरुसँग दैनिक भाडा लिएर व्यापार गर्न दिएको हुनाले आफूहरु पीडित रहेको बताएका छन् ।

उनीहरुले सो विषयमा महानगरमा पटक–पटक गुनासो गर्दापनि आर्थिक प्रलोभनमा महानगरले फुटपाथ व्यापार लाई प्रोत्साहन गरेको उनीहरुले बताएका छन् । काउन्टर रहने भनिएको स्थानमा सामाजिक मन्त्रालय रहेको र भित्र फुटपाथमा व्यापार गर्न दिएको हुँदा आफ्नो व्यवसाय नै धरापमा परेको व्यसायीहरुको भनाई रहेको छ ।न्यूनतम रु.१० हजारदेखि करिब ८० हजारसम्म भाडा रहेको सो स्थानमा भाडाको तुलनामा व्यापार निकै कम भएको व्यापारी राजेश सुनारले बताए । त्यसैगरी महानगरले भवनको पेटीमा पनि व्यसाय गर्न दिई उनीहरुबाट दैनिक तीन सय भाडा लिने गरेको हुनाले भित्र रहेका व्यवसायी मर्कामा परेको व्यवसायी दधि पौडेलले बताए ।

समृद्धिको कुरालाई मुख्य एजेण्डा बनाउँदै आएको महानगरले व्यापारी, व्यवसायी र उद्योगीहरुलाई निरुत्साहित गरेको नेपाल घरबहाल महासंघ ,रुपन्देहीका अध्यक्ष शंकर कोइरालाले बताए । उनले भने– ‘समृद्धिको नारा लगाउँदै पटक–पटक उत्कृष्ट समेत बनेको महागरले व्यसायीलाई निचोर्ने गरेको छ । लगानीमैत्री वातावरण बनाउँदै सस्तो भाडादर,सेवा,सुविधा उपलब्ध गराउनुको साटो उल्टै आर्थिक प्रलोभन गरी फुटपाथ र पेटीमा व्यवसाय गर्न दिँदा महङ्गो भाडा तिरेका व्यवसायी घाटामा परेको र भाडा तिर्न पनि समस्या रहेको बताएका छन् ।’ महानगरले अग्रिम धरौटी लिने, वार्षिक १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने , फुटपाथका व्यवसायीलाई वृद्धि गरी भाडा उठाउने जस्ता गतिविधिलाई बढि प्राथमिकता दिएको तर महङ्गो भाडा तिरेर बसेका व्यवसायीका गुनासा नसुन्ने गरेकोप्रति व्यवसायीको गुनासो छ ।

महानरगरको गतिविधि कारण उक्त स्थानबाट उठ्ने भाडा लगाएत फुटपाथको पूरै रकम महानगरको कोषमा जान्छ वा केही कर्मचारीले भ्रष्टाचार गर्छन् भन्ने विषयमा शंका पछि अख्तियारमा छानविनका लागि उजुरी परेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ