बर्दिवास, २९ माघ । गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग पर्नुभएकी इजोतीयाको खुशी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको हो ।
“गेल अगहनमें विवाहपञ्चमी मेलामें जयनगर सऽ कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” (गत मङ्सिरमै विवाहपञ्चमी मेलामा जयनगरबाट कुर्थासम्म रेल चल्ने हल्ला चलेको थियो) उमेरमा ५० वर्ष कटेकी सहनीले बस्तीमै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “मुदा, विवाहपञ्चमीवाद सेहो दु महीना बितलागल, रेलके कोनो अत्तापत्ता नई” (तर, विवाहपञ्चमी यता पनि दुई महीना बित्न लाग्यो, रेल चल्ने कुनै अत्तोपत्तो देखिँदैन) ।
इजोतीयाजस्तै कुर्था स्टेशन नजिकका महोत्तरी जिल्लाका लोहारपट्टी, बलबा र भङ्गाहा नगरपालिकाका बासिन्दा पनि आफ्नो रेल चढ्ने आस अधुरै रहेको बताउँछन् । “उमर सेहो आब नइ रहीगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदा आब इ ललसा पूरा होयवाक आस मैरगेल” (उमेरले पनि डाँडा काट्दैछ, सोचेको थिएँ एकचोटी रेल चढेर जानकीमाताको दर्शन गरौँ, तर अब यो रहर पूरा हुने छाँट देखिएन) लोहारपट्टी नगरपालिकाकै खुट्टापिपराढीका ८० वर्षीय रामदरेश यादवले निरासा पोखिन ।
गत मङ्सिरको प्रारम्भमा विवाहपञ्चमी मेलाको तयारी भइरहँदा जयनगरदेखि कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएकाले जयनगरदेखि कुर्थासम्म रामजानकी विवाह महोत्सवकै दिन रेल सञ्चालन गरिने त्यतिखेरका रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताउँदा कुर्था नजिकका महोत्तरी÷धनुषाका बस्तीमा उत्साह देखिएको थियो । रेल चलेपछि आफ्ना कृषि उत्पादन सहजै बजार पु¥याएर बेचबिखन गर्न पाइने आश मर्दै गएको बलवा नगरपालिकाको अधियानपुरका किसान समसुल राइनले बताए ।
धनुषाको कुर्थास्थित निर्माण भएको रेलस्टेशनबाट महोत्तरी जिल्लाका लोहारपट्टी नगरपालिकाको महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी, मधेपुरा, बगडा र जिल्लाकै पिपरा गाउँपालिकाको रतौली र रतनपुर जोडिएका बस्ती हुन् । भङ्गाहा नगरपालिकाको पडरिया, हरिनमरी, धर्मपुर, कबिलासा र सिङ्ग्याही एवं बलबा नगरपालिकाका भलनी, धमौरा, रौजा, बनौटा, लेउरी र अधियानपुर कुर्थाबाट नजिकका बस्ती हुन् ।
भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्मको ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किमी दूरीमा मङ्सिर पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चाले यस भेगमा उत्साह छाएको थियो । तर, लिक परीक्षण सम्पन्न भइसकेको सो दूरीमा पनि रेल इञ्जिन र रेलका डब्बा व्यवस्था हुन नसक्दा सञ्चालन हुन नसकेको रेल विभागका अधिकारीले अहिले बताएका छन् ।
बर्दिवास–जयनगर रेल विस्तार योजनामध्ये धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको पहिलो चरणको ३४ किलोमिटर दूरीमा लिक ओछ्याइएर र परीक्षणसमेत भइसके पनि रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउँ छन् । महानिर्देशक मिश्रले लिक तयार भएर परीक्षणसमेत भइसके पनि ब्रोडगेज इञ्जिन र डिब्बा व्यवस्था भइनसकेकाले सञ्चालनको कुरा अनिश्चित भएको उल्लेख गरे । अहिले रकम जुटाउनदेखि इञ्जिन र रेलडिब्बा ल्याउन भएका प्रयत्नले आउने नयाँ वर्ष २०७६ को प्रारम्भसम्म रेल सञ्चालन हुनसक्ने मिश्रको भनाइ छ ।
बर्दिवास–जयनगरसम्मको ६९ किमी दूरीमा तीन चरणमा काम भइरहेको रेल विभागले जनाउँदै आएको छ । पहिलो जयनगरबाट कुर्था, दोस्रो कुर्थाबाट महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेशन) र तेस्रो भङ्गाहाबाट बर्दिवास रहेको छ । पहिलो चरणमा रेल प्राप्त हुनासाथ सञ्चालन हुने र दोस्रो चरणमा कुर्थादेखि भङ्गाहासम्मको १७ किलोमिटर दूरीमा लिक ओछ्याइने र एक वर्षभित्रै सेवा सञ्चालन हुने गरी काम भइरहेको रेल विभागले जनाएको छ ।
पहिलो चरणको काम सम्पन्न भएर हस्तान्तरणको तयारी रहेको, दोस्रो चरणअन्तर्गतको कुर्थादेखि भङ्गाहासम्मको खण्डमा माटो सम्याउने, ग्राबेल ओछ्याउने र पुलपुलेसा निर्माणको काम अन्तिम चरणमा रहेको विभागले जनाएको छ । यता तेस्रो चरणमा काम सम्पन्न गरिने भनिएको भङ्गाहाको बिजलपुराबाट बर्दिवासम्मको १८ किमी दूरीभित्र काम अघि बढ्न अझै अन्योल नै छ ।
भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु गरिएको हो । विसं १९९४ शुरु भएको विजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर(धनुषा)–जयनगर (भारत) ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले विग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । सो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो ।
तपाईको प्रतिक्रिया