रेशम चौधरीको रिहाईको माग गर्दै प्रदर्शन

समाचार

2/18/2020

कैलाली, ६ फागुन । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटका नेताहरुले विरोधसभा गरेका छन ।

२०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै कैलालीमा थारुहटका नेताहरुले विरोधसभा गरेका हुन् । सभालाई सम्बोधन गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले आफ्नो अधिकारको लागि लडने थारुको छोरो सांसद चौधरीलाई झुटा मुद्दा लगाएर थुनामा राख्नु बडो दुःखदायी भएको बताए ।

सांसद चौधरीसहित ११ जना रिहाइ लगायत १४ बुँदे मागसहित थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु कैलालीको क्याम्पस रोडमा आमरण अनसन बसेको ५ दिन भइसक्दा पनि सरकारको ध्यान जान नसक्नु दुःखदायी भएको थारु नेताहरुको भनाई छ ।

सांसद चौधरीलगायत ११ जनाको रिहाई र पूर्वन्यायाधीश गिरिशचन्द्रलाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्ने लगायतका १४ बुुँदे मागसमेत रहेका छन् ।

मोर्चाको प्रदर्शनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघ–संस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ