जनकपुरधाम, १ फागु्न । प्रदेश २ को सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरू भएको दोस्रो वर्ष हुन लाग्यो । तर कार्यान्वयन पक्ष अहिले पनि फितलो नै देखिएको छ ।
गत भदौ १५ गते प्रदेश सरकारले औपचारिक कार्यक्रमको आयोजना गर्दै बडो तामझामका साथ अभियानको सुरूआत गरेको थियो ।। प्रदेश सरकारले आफ्नो बजेटबाट ठूलो राशी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानकै लागि छुट्याएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट प्रदेश सरकारले यस अभियानका लागि ८९ करोड रकम छुट्याएको छ । तर प्रदेश सरकारको यो अभियान कार्यान्वयनमा आउन नसकेको छैन ।
कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले कार्यान्वयनमा ल्याउन केही समय लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता टिकामणि न्यौपानेले सूचना निकालेर एक महिना समय दिनुपर्ने, त्यसको मूल्यांकन गर्नुपर्ने, करार गर्नुपर्ने, धरौटी राख्न लगाउनु पर्ने जस्ता प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले कार्यान्वयनमा ल्याउन केही ढिलाइ भएको बताए । उनले यो कार्यक्रम प्रचारमुखी नभई ठोस देखिने गरी कार्य अगाडि बढाइएको दाबी गरे ।
‘बेटी पढाउ बेटी बचाउ’ अभियान दुई वर्ष पूरा हुनै लाग्दा कार्यान्वयनमा नआएपछि सरकारको आलोचना बढ्दै गएको छ । आलोचनाका बीच प्रदेश सरकारले छिट्टै कार्यान्वयनमा लाने प्रक्रिया सुरू गरेको छ।
पहिलो चरणमा छोरी बीमा कार्यक्रम र एसइईमा उत्कृष्ट अंक ल्याउने आठ वटै जिल्लाबाट उत्कृष्ट ३ वटा छात्रालाई सम्मान र छात्रवृति प्रदान गर्ने कार्यक्रम रहेको छ । यस वर्ष आठ वटै जिल्लाबाट कूल २८ छात्रालाई सम्मान गर्ने निश्चित गरिएको छ । छोरी बीमा कार्यक्रमको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन ९ गते वीरगञ्जस्थित युद्ध माविमा आयोजना हुने सो कार्यक्रममा राष्ट्रपति भण्डारीले छात्राहरूलाई सम्मान गर्दै छोरी बीमा कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको बेटी पढाउ बेटी बचाउ कार्यक्रमकी संयोजक प्रियंका यादवले जानकारी दिइन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेटी पढाउ बेटी बचाउ अभियानलाई कार्यान्वयन तहमा ल्याउनका लागि विभिन्न ७ वटा शिर्षकमा काम गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया