अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

समाचार

2/24/2020

नयाँ दिल्ली, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको अहमदाबाद आइपुगेका छन् । उनलाई अहमदाबादस्थित एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरे ।

राष्ट्रपतिका रुपमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन् । ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाइँ ज्यारेड कुशनर पनि भारत आएका छन् ।

अमेरिकी राष्ट्रपति अहमदाबादमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै २२ किमी लामो रोड शोमा सहभागी भए । मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा पनि उनी सामेल भएका छन् । 

बितेका ६१ वर्षमा ट्रम्प भारत आउने सातौँ अमेरिकी राष्ट्रपति हुन् । बाराक ओबामा दुई पटक भारत आएका थिए । ट्रम्प भारत आउँदै गर्दा मोदीले ट्विट गर्दै भनेका थिए, ‘ट्रम्प, भारत तपाईंको प्रतीक्षा गरिरहेको छ । तपाईंको भ्रमणबाट दुई देशको सम्बन्ध अझै मजबुत हुनेछ ।’ मोदीलाई जवाफ दिँदै जहाजबाटै ट्रम्पले भनेका थिए, ‘हामी भारत उनका लागि तयार छौं । हामी बाटोमा छौं, केही घण्टामै हामी सबै भेट हुने छौं ।’ 

अहमदाबादपछि ट्रम्प ताजमहल हेर्न आगरा जानेछन् । मंगलबार ट्रम्पलाई दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । अमेरिकी राष्ट्रपतिसँग मोदीले हैदराबादमा औपचारिक भेट गर्नेछन् । दुवैले संयुक्त विज्ञप्ति पनि निकाल्नेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ