कतार, १५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छिन् । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपाल मैत्री सङ्घलगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरिन् ।
नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानून र वातावरण बनाएर अगाडि बढेको छ त्यसैले सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह समेत गरिन् ।
कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्यालागायत थुप्रै विषयमा चर्चा गरिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल–कतार सम्बन्ध थप प्रगाढ हुने र कतारी लगानी नेपाल भित्रिने विश्वास व्यक्त गरेकी छिन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताए । दुई देशबीच अहिले भएका विभिन्न सहमति र समझदारीले यस सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने छ । मन्त्री ज्ञवालीले यहाँका नेपाली उद्योगी, व्यवसायीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया