काठमाडौं, २६ जेठ । ‘यस टुगेदर वी केन’ ले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको राजीनामाको साथै विज्ञापन खारेज गर्न माग गरेको छ ।
यस टुगेदर वी केनले शनिबार नेपाल ल क्याम्पसमा आयोजना गरेको लोकसेवामा समावेशी विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो माग गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्रीसमेत रहेका अधिवक्ता अकबाल अहमदले राज्यको शासन व्यवस्थाको प्रतिनिधि गरिरहेका वर्गको निकै अनुभवमा आधारित कुराहरू राखेका थिए ।
उनले संघीयतालाई नै नष्ट गर्ने नियतमा अहिले खस आर्यहरू लागेको मानसिकताको उपज भएको यो लोकसेवा आयोगको विज्ञापन रहेको जिकिर गरे । उनले भने, ‘संविधान आफ्नो मुख हेर्ने ऐना हो । यसमा जुन समुदायको नेतृत्व हुँदैन त्यो पीडा र भेदभावमा पर्छन् ।’
अर्का वक्ता दीपक राईले यो विज्ञापन बाँडफाँटको घाउ रहेको बताउँदै लोकसेवा आयोगले जारी गरेको विज्ञापन बिरुद्ध निरन्तर संघर्ष गरिरहने बताए ।
यसैगरी, महिला अधिकर्मी रीता साहले आउँदो ३ गते भित्र नै यो विज्ञापन सच्याउन उपलब्धिमूलक प्रयास गर्नुपर्ने कुरामा जोड दिइन् । योजनाबद्व ढङ्गले संघीयतालाई खारेज गर्ने प्रयास भइरहेको आशंका पनि व्यक्त गरिन् ।
कार्यक्रममा समाजवादी विद्यार्थी फोरमका अशोक राई, नेपाल ल क्याम्पसका अनेरास्ववियुका अध्यक्षलगायत कानून, पत्रकारिता, समाजशास्त्र , मेडिकल, इंजीनियरिंग लगायतक्षेत्रमा अध्ययनरत विद्यार्थी अगुवाहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मनतब्य शमशाद आदिलले दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका अध्यक्ष गोन्दि साहले गरेका थिए ।
तपाईको प्रतिक्रिया