लोक सेवाको विज्ञापन रद्द गर भन्दै गौरमा प्रदर्शन

समाचार

6/7/2019

रौतहट, २४ जेठ । लोक सेवा आयोगले गरेको स्थानीय तहको विज्ञापन मधेशी विरोधी भएको भन्दै रौतहट जिल्लाका युवाहरुले रद्द गर्नुपर्ने माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।

हालै लोक सेवा आयोगले गरेको विज्ञापनमा मधेशी, जनजाति, मुस्लिम, दलित, पिछडावर्गको आरक्षणमा विभेद गरेको भन्दै मधेशको विभिन्न जिल्लाहरुमा प्रदर्शन भैरहेको बेला बिहीबार रौतहटको सदरमुकाम गौरमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

मधेशी क्रान्ति चौकमा युवाहरुले गरेको प्रदर्शनमा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले पनि आफ्नो सहभागिता जनाएका थिए ।

स्थानीय तहको कर्मचारी पद पूर्तिका लागि गरिएको विज्ञापनमा मधेशीको आरक्षण नराखेकोले विज्ञापन सच्याउनु पर्ने युवाहरुले माग गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधानमा गरिएको व्यवस्था अनुरूप विज्ञापनमा आरक्षण हुनुपर्ने धारणा मेयर गुप्ताले राखेका छन् ।

मधेशमा भएको आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र राज्यले गरेको ठहर गर्दै युवाहरुले विज्ञापनमा सुधर नगरेसम्म संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन् ।

अधिकारको सवालमा कुनै सम्झौता नगरिने उनीहरुको तर्क रहेको छ । लोक सेवा आयोगले गरेको मधेश विरोधी विज्ञापनको चौतर्फी रुपमा विरोध भैरहेको छ ।

प्रदर्शनमा उत्रेका युवाहरुले लोक सेवा आयोगको विभेदकारी विज्ञापन रद्द गर, आयुक्त माथि कार्यवाही गर, मधेश विरोधी विज्ञापन खारिज गर, मधेशीको साथमा भैरहेको विभेदको अन्त्य गर, विभेदकारी विज्ञापन रद्द गरी संविधानअनुसार प्रदत अधिकार अनुसार विज्ञापन गर, समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गर जस्ता नारा लेखिएको प्ले कार्ड लिएर विद्यार्थी युवाहरुले प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ