विद्युत प्राधिकरणको डेढ करोड बक्यौता असुल

समाचार

2/18/2020

जलेश्वर, ६ फागुन । नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले चालु आर्थिक वर्षको माघ मसान्तसम्म विद्युत चुहावट गर्ने तथा महसुल नतिर्नेलाई कारबाही तीव्र पारेको छ ।


जलेश्वर वितरण केन्द्रले ४ सय ९३ जनाको लाइन काटेपछि बक्यौता रकम मध्ये एक करोड ४९ लाख ७३ हजार ३ सय ८९ रुपैयाँ असुल गरेको छ । साथै विद्युत चुहावट नियन्त्रण गर्दा थप २१ लाख ७३ हजार ५ सय ५७ रुपैयाँ राजश्व असुल समेत गरेको छ । उक्त अवधिमा प्राधिकरणले विद्युत चुहावट गर्ने चार सय ८ जनालाई कारबाही गरी राजश्व उठाएको हो ।


जलेश्वर वितरण केन्द्रले महसुल तिर्न बाँकी रहेकाहरुको लाइन काटेपछि बक्यौता मध्येको अधिकांश रकम तत्काल उठाएको नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्र प्रमुख चन्द्र नारायण साहले बताए । त्यस्तै विद्युत चुहावट नियन्त्रण गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरी सम्मिलित टोली वितरण केन्द्रबाट खटाइएकोमा चोरी गर्ने ५२ जनाबाट २ सय पाँच थान विभिन्न उपकरण र एक सय ५१ थान मिटर समेत नियन्त्रणमा लिई कारबाही गरेको उनले बताए ।


सोही अवधिमा हुकिंग गरी विद्युत चारी गरेर प्रयोग गरिरहेका ३ सय ५८ जनाको हुकिंग झिकिएको र पुनः समातिए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ